
गोरखाको सबै पालिकामा कोरोना बिरुद्ध खोप लगाइने
गोरखाको अन्य पालिकामा पनि कोरोना बिरुद्धको खोप क्रमशः लगाउँदै जाने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सबै पालिकामा ५५ वर्ष उमेर माथिका सबै ब्यक्ति, विद्यालय, विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सह चालकले खोप लगाउन पाउने छन् ।
शिक्षक, कर्मचारीलाई खोप लगाउन परिचय पत्र अनिवार्य गरिएको छ । ५५ वर्ष माथिका नागरिकले उमेर पुष्टि गर्ने कागजात, सार्वजनीक यातायातका चालक सह–चालकले भने जिल्ला प्रशासन कार्यालयको सिफारिस पेस गर्नुपर्ने गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यसअघि छुटेका अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपालीले कागजात पेश गरेपछि खोप लगाउन पाउनेछन् । खोप उपलब्धताको आधारमा लगाइने स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए । ‘हामीसँग गोरखामा १२ हजार चार सय डोज खोप प्राप्त भएको छ’, उनले भने, ‘पालिकाको जनसंख्याको औसत आधारमा हामीले बितरण गर्छौँ ।’
गोरखा नगरपालिकाले मंगलवार नै खोप लगिसकेको र अन्य पालिकामा नि क्रमशः बितरण गरिने उनले बताए । मापदण्ड तोकिएकाहरु खोप केन्द्रमा जो पहिले पुग्छ उसले क्रमस खोप लगाउन पाउनेछन् । स्वास्थ्य कार्यालयका अनुसार अब खोप निरन्तर चल्नेछन् ।




