| सोमवार, कार्तिक २३, २०८३

लिगलिगकोटका पहिरो पिडित दुईसातादेखि चिसो भुइँमा(फोटो फिचर)

पालुङ्टार ३ सगरमाथा आधारभूत विद्यालयको एउटा कोठाभित्र १८ जना महिला, पुरुष, वृद्धवृद्धा, बालबालिका, युवा, युवतीको असुरक्षित बास छ ।

भर्खर कोरोनामुक्त भएका बिरामी, दुई महिनाका बच्चादेखि ९४ बर्षका वृद्धसम्म एकसरो म्याट्रेस ओछ्याएर सुत्छन् ।


कसैको घर ठाडै छ, घरमै पकाएर खान्छन् र सुत्न बस्न यहाँ आउँछन्, कसैको घर जगैदेखि पहिरोले लगेको छ त्यसैले यही पकाउने खाने गर्छन् । साँगुरो ठाउँमा धेरै जना बस्नुपर्दा न पर्याप्त खाना र पानी न सौचालयको सुविधा छ ।


यो दुराबस्था हो गत असार १८ गते बिहान लिगलिगकोटको पहाड भत्किएर पहिरो झरेपछि बिस्थापित भएका राउतेपानीका १६ घरपरिबारको । उनीहरुमध्य ११ घरपरिबार सो प्राथमिक विद्यालयमा ओत लागिरहेका छन् ।

एक परिबार ठाँटीपोखरीमा कोठा भाडामा लिएर बसेका छन् भने अन्य चार परिबार आफन्तको घरमा आश्रय लिएर बसेका वडा सदस्य चिजकुमार गुरुङ बताउँछन् ।


लिगलिगकोटको पहिरोले घरबास उठाएपछि उनीहरु स्थानीय एक विद्यालयको आश्रयमा पुगेका हुन् । लामो समयदेखि विद्यालयको कक्षा कोठामा अभाव र तनाबमा रहनु परेको पीडितहरुको गुनासो छ । ‘हेर्नुस्, यही एउटा म्याट्रेसमा दुई महिनाको बच्चा पनि यहीँ सुत्छ, ९२ बर्षका ससुरा पनि यहीँ सुत्नुहुन्छ ।

भर्खर कोरोना बिसेक भएकी छोरी पनि यहीँ सुत्छे’, बिस्थापित बिमला देवकोटा भन्छिन्, ‘यो स्कूलमा ११ घर परिबार छौँ । चिसो भुइँमा म्याट्रेसको भरमा बसेको दुईहप्ता हुन लाग्यो ।’ माना रोपेर मुरी उब्जाउने बेला घरबासबिहिन हुनुपर्दा मानसिक, भौतिक समस्याले गिजोलिरहेको उनको गुनासो छ ।


बास स्कूलमा भए पनि मन आफ्नै घर र बारीमा पुगिरहने अर्की पीडित खेममाया देवकोटाको दुखेसो छ । ‘घर पहिरोले सिनित्तै पारेर लगिहाल्यो । खानेकुरा पनि निकाल्न पाइएन । भाँडाकुँडा पनि निकाल्न पाइएन’, उनी भन्छिन्, ‘घर ढल्यो, जग्गा बढा¥यो । न खाने गाँस छ, न बस्ने बास छ । नहुनु रहेछ र कहिल्यै नफल्ने यसपालि असाध्यै राम्रो मकै फलेको थियो । यत्रो घरजग्गाको मालिक्नी भएर पनि अहिले पूरै सुकुम्बासी भएँ ।’

भित्र्याउने बेला भएको डेढसय थुन्से मकै सबै पहिराले लगेको बताइन् । दिएर खाने गरेको आफू अहिले अरुको आशा गर्नुपर्ने अबस्थामा पुगेको दुखेसो उनको छ ।


सो पहिरोले राउतेपानी गाउँका काजीमान श्रेष्ठ, लेखनाथ देवकोटा, सिद्धिमान श्रेष्ठ, भक्तकुमार श्रेष्ठ, चिनीमाया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, खेममाया देवकोटा, कलाधर देवकोटा, पूर्णचन्द्र देवकोटा, बाबुराम देवकोटा, महेन्द्र देवकोटा, लक्ष्मीश्वर देवकोटा, विष्णुप्रसाद देवकोटा, हरिप्रसाद देवकोटा, रामचन्द्र देवकोटा गरी १६ घरपरिबार विस्थापित भएका वडा सदस्य चिजकुमार गुरुङ बताउँछन् ।


उनका अनुसार भक्तकुमार श्रेष्ठको पसल, चिनीमाया श्रेष्ठको कुटानी, पिसानी मिल पनि पहिराले बगाएको छ । मिल बगाउँदा बचेखुचेका धान मकै कुट्न, पिस्न नपाएको इन्दिरा देवकोटा बताउँछिन् ।


आफ्नो १५ रोपनी बारी र त्यहाँ लगाइएको मकै पहिरोले लगेको अर्का स्थानीय सुरेन्द्र देवकोटा बताउँछन् । राती पानी पर्न थालेपछि निद्रा नलाग्ने देवकोटाको भनाइ छ ।


२०७२ सालको भूकम्प र निरन्तरको परकम्पले चिरा परेको लिगलिगकोटको पहाडमा घना बर्षा हुँदा माटो बगेको भूगर्भविद भूपति न्यौपानेको निश्कर्ष छ । ‘परकम्पले हल्लाएर माटो कमजोर बनाएको चिराबाट पानी छिरेर पहिरो गएको हो’, सोमबार र मंगलबार लिगलिगकोट पहिरोको अध्ययन गरेका डाक्टर न्यौपानले भने, ‘अब पहिरो बग्न रोक्नका लागि त्यहाँको पानी तत्कालै व्यवस्थापन गर्नु एकदमै जरुरी छ । २०, २५ घर जुनसुकै बेला फेरि बग्न सक्छन् त्यसैले उनीहरुलाई अन्यत्रै पुनस्थापना गर्नुपर्ने देखेको छु ।’


यसबर्षको अबिरल बर्षापछिको पहिरोले पालुङ्टार नगरपालिकाभित्र एकसय ९० घर बिस्थापित भएका मेयर दीपकबाबु कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्