
सम्पर्क बिहिन भएका प्रहरी पहिरोमा पुरिएको आशंकामा खोजी सुरु
गत असार १ गतेदेखि सम्र्पकमा नरहेका प्रहरी जवानको खोजीका लागि प्रदेशबाट आएको अनुसन्धान टोली यारुबगर पुगेको छ ।
टोलीले सोमवारदेखि नै सम्पर्क बिहिन भएका ठाउँ आसपासको क्षेत्रको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सहायक प्रहरी निरीक्षकको कमाण्डमा सात जनाको टोली कुकुर सहित खोजी गर्न आएको हो । उक्त टोलीमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सहितका सुरक्षाकर्मी रहेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखा अन्र्तगतको सामागाउँ प्रहरी चौकीमा कार्यरत मोहनसिंह कुँवर कार्यक्षेत्र जाने क्रममा असार १ गते यारुबगर आसपासबाट सम्पर्क बिहिन भएका थिए ।
उनी सम्पर्क बिहिन भएको दिन अत्याधिक वर्षात सँगै उक्त बाटोमा पहिरो बगेकाले पुरिएको आशंकामा यारुबगर क्षेत्रमा खोजीका लागि टोली परिचालन भएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।
कञ्चनपुर जिल्ला घर भई हाल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुवँर घर बिदामा गएर फर्कने क्रममा बेपत्ता भएका थिए । असार १ गते उनी खोर्लाबेसी सम्म पुगेको र स्थानीयले भेटेको बताएका थिए । तर सिर्दीबास सम्म भने उनी नपुगेकाले बिचबाटोमा पहिरोमा पुरिएको, खोलामा बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ ।




