
स्वमूल्याङ्कनमा बारपाक प्रथम, अजीरकोट दाेस्राे
स्थानीय तह स्वमूल्याङ्कनमा गोरखाका ११ वटा स्थानीय तहमध्ये बारपाक सुलिकोट गाउँपालिकाले सबैभन्दा उत्कृष्ठ स्थान लिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार संस्थागत क्षमताको स्वमूल्याङ्कनमा बारपाक सुलिकोट गाउँपालिकाले अग्रस्थान पाउन सफल भएको हो ।
स्वमूल्यांकन कार्यबिधिमा रहेका १० ओटा सूचक र एकसय ओटा उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिशत अंक प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
संस्थागत क्षमताको स्वमूल्याङ्कनको आधारमा अजिरकोट गाउँपालिका दोस्रो स्थानमा रहेको छ । सो गाउँपालिकाले ६५.५ प्रतिशत अङ्क प्राप्त गर्न सफल भएको हो । त्यस्तै सहिद लखन गाउँपालिकाले ६०.२५ अङ्क ल्याएर संस्थागत क्षमताको स्वमूल्याङकनमा जिल्लाभित्र तेस्रो उत्कृष्ट गाउँपालिका बनेको छ । सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार गोरखाको सिरानचोक गाउँपालिकाले ६०.२५ अङ्क ल्याएको छ भने धार्चे गाउँपालिकाले ४६.५ प्रतिशत अङ्क ल्याउन सफल भएको छ ।
त्यस्तै गोरखा नगरपालिकाले ४२.२५ प्रतिशत र पालुङटार नगरपालिकाले ४१.७५ प्रतिशत, गण्डकी गाउँपालिकाले ४५ प्रतिशत र चुमनुव्री गाँउपालिकाले ३३.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । कार्यबिधिको मापदण्ड अनुसार संस्थागत क्षमताको स्वमूल्याङकनमा भीमसेन थापा गाउँपालिका सवैभन्दा पछाडि परेको छ । सो गाउँपालिकाले ३३.५ प्रतिशत अंक प्राप्त गरेको छ ।
कार्यबिधि अनुसार गाउँपालिका र नगरपालिकाका सवल र दुर्बल पक्षहरुको पहिचान र समिक्षा गर्ने गरिन्छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी स्वयंले सहभागितामूलक विधिद्वारा आ-आफ्नो स्थानीय तहको कार्यबारे मूल्यांकन गर्ने गर्दछन् ।
शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, संगठन तथा प्रशासन, सहकार्य र समन्वयको आधारमा स्थानीय तहरुले नम्बर प्राप्त गर्ने गर्छन् ।
गोरखाका ११ स्थानीय तहहरुमा आरुघाट गाउँपालिकाले भने भर्खरै मात्र संस्थागत क्षमताको स्वमूल्याङकन प्रक्रिया सुरु गरेको जनाएको छ ।




