| सोमवार, कार्तिक २३, २०८३

गोरखामा निषेधाज्ञा साउन ९ सम्म थपियो, बुधवारदेखि बजार दिनभरी खुल्ने

गोरखामा निषेधाज्ञा साउन ९ गते सम्म थपिएको छ । सोमवार बसेको जिल्ला कोभिड ब्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले यस अघि असार २९ गते सम्मका लागि थपिएको निषेधाज्ञाको समय बढाएर साउन ९ गते सम्म कायम गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
थपिएको निषेधाज्ञा भने पहिले भन्द खुकुलो बनाइएको छ । बुधवारदेखि पसलहरु दिनभरी खुल्न पाउनेछन् । बिहान ५ देखि बेलुकी ५ बजे सम्म पसल खोल्न पाउने निर्णय डिसिसिएमसीको बैठकले गरेको छ । यस अघि दिउँसो दुई बजे सम्म मात्र बजार खुल्ला थियो । ब्यापारी र सर्वसाधारणले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना गरेको हुनुपर्ने प्रजिअ पौडेलले बताए ।
खाजा पसल र होटल पनि खुल्न पाउनेछन् । खाजा पसलले होम डेलिभरी गर्न पाउनेछन् । होटल र लजहरुले भने जम्मा कोठाको एक तिहाई मात्र पाहुन राख्न पाउने गरी संचालन गर्नुपर्ने निर्णय बैठकले गरेको छ । होटलको कोठा भने हरेक दिन निसंक्रमण गर्नुपर्ने उल्लेख छ ।
सार्वजनीक यातायात जिल्ला भित्र मात्रै खुल्ला गर्ने यस अघिको निर्णय नै कायम गरिएको छ । ब्यवशायीले जिल्ला बाहिरका मूख्य सहरबाट सवारी चलाउने ब्यवस्था मिलाउन अनुरोध गरेपछि डिसिसिएमसीको बैठकले उक्त विषयमा थप निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्