| आइतवार, कार्तिक २२, २०८३

‘दुई महिनादेखि खाद्यान्न ढुवानी भएन, अहिले बाटो नै छैन’

निषेधाज्ञाका कारण दुई महिनादेखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा दुई साता अघिको बाढीले आवतजावत ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको छ । कोरोना संक्रमणको डरले खच्चडबाट खाद्यान्न ढुवानी बन्द गरिएको र अहिले बाढी पहिरोका कारण बाटो बन्द हुँदा रोकिएको स्थानीयले बताएका छन् ।


‘स्थानीय बजारमा पनि अहिले खाद्यान्न छैन’, चुमनुब्री ४ का लाक्पाडुण्डुप लामाले भने, ‘बाटो पनि नहुने हो भने अब खाने कुराको हाम्रो क्षेत्रमा अभाव हुने भयो ।’ चामल, नुन, तेल स्थानीय बजारमा अभाव हुन थालेको उनले बताए । तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री र सँगैको धार्चे गाउँपालिकालाई खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले अनुदानमा चामल बिक्री गर्ने गर्छ ।

धार्चेको माछाखोला र चुमनुब्रीको सिर्दिबासका डिपोबाट अनुदानको चामल बिक्री हुँदै आएको छ ।
नेपाल सरकारले सिर्दिबास डिपोका लागि तीन हजार पाँच सय र माछाखोला डिपोका लागि पाँचसय क्विलन्टल चामल यो वर्ष लैजाने योजना बनाएको थियो । तर अहिलेसम्म सिर्दिबास डिपोमा दुई हजार सात सय सात क्लिन्टल मात्र पठाइएको छ । यो मध्ये पनि करिब पाँच सय क्लिवन्ट डिपोमा पुगेको छैन । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका गोरखा शाखा प्रमुख नबिन बस्नेतले पछिल्लो पटक जेठ २६ गते कार्यालयले सदरमुकामबाट खाद्यान्न पठाएको बताए ।

डिपोमा अहिलेसम्म करिब दुई हजार एक सय क्विन्टल मात्रै पुगेको छ । अहिले सिर्दिबास डिपोमा करिब दुई सय क्लिवन्टल मात्रै चामल छ ।
माछाखोला डिपोमा पाँच सय क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा दुई सय क्विन्टल बाँकी छ । सदरमुकाम स्थित गोदामबाट चलानी भएको तीन सय मध्ये पनि एक सय भन्दा बढी अझै पुग्न बाँकी छ । यहाँ पाँच सात क्लिवन्टल मात्रै चामल बाँकी छ । ‘केही परिमाण त हामीले स्टक राख्नुपर्ने हुन्छ’ शाखा कार्यालय गोरखाका प्रमुख बस्नेतले भने ‘बाटो नहुँदा ढुवानी गर्न अहिले संभव भएन ।’ माछाखोलाका लागि चुमकाङ निर्माण सेवा र सिर्दिबासका लागि प्रगति निर्माण सेवाले खाद्यान्न ढुवानीको जिम्मा लिएका हुन् ।
निर्माण कम्पनीसँग असार मसान्तभित्र ढुवानी गर्ने सम्भौता छ ।


निषेधाज्ञा र बाटो देखाएर उनीहरुले ढुवानी गर्ने अवस्था छैन । हेलिकप्टरबाट ढुवानीकालागि गृह मन्त्रालय, खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडसँग समन्वय भईरहेको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘बाटो नभएकाले त्यहाँ खाद्यान्न अभाव हुने भन्दै स्थानीयले गुनासो गर्नुभएको छ, हामीले बैकल्पिक तरिका अपनाउँदैछौँ’ प्रजिअले भने ।
सदरमुकामबाट धार्चेको माछाखोलासम्म सडक जोडिएको थियो । स्थानीय बजारमा चामल उपलब्ध हुन थालेपछि अनुदानको चामल कम प्रयोग गरेपछि कोटा घटाइएको हो । सिर्दिबास भने सडकले नजोडिएको हुँदा त्यहाँ अनुदानको चामल सस्तो पर्ने भएकाले उपभोग्ताको रोजाईमा पर्ने गरेको थियो ।


स्थानीय बजारमा पनि खाद्यान्न अभाव हुन थालेपछि हेलिकप्टबाट ढुवानी गर्नुको बिकल्प नभएको स्थानीय बताउँछन् । यस अघि भने उत्तरी गोरखामा खच्चडबाट खाद्यान्न ढुवानी गरिन्थ्यो । वर्षात निरन्तर भईरहेको र तत्काल सबै ठाउँमा एकैसाथ बाटो बनाउन सक्ने अवस्था नहुँदा समस्या भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए । ‘हामीले वर्षात रोकिएसँगै मर्मत गर्ने, वडा, स्थानीय समुहलाई मर्मतकालागि अनुरोध गरिरहेका छौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्