
गोरखा अस्पतालमा भर्ना भएका मध्ये १७ प्रतिशत रिफर
गोरखा अस्पतालमा भर्ना भएका मध्ये १७ प्रतिशत बिरामी रिफर हुने गरेका छन् ।
अस्पतालका अनुसार कोभिडको दोस्रो लहर सुरु भए यता(बैशाख यता) अस्पतालमा भर्ना भएका एक सय २८ जनामध्ये २२ जना रिफर भएका छन् भने एक सय जना निको भएर डिस्चार्ज भएका छन् ।
अहिले अस्पतालमा चारजना अर्थात तीन प्रतिशत उपचाररत रहेको अस्पतालले जनाएको छ । दुई प्रतिशतको भने मृत्यू भएको अर्थात दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यू भएको थियो ।
भर्ना हुने मध्ये सबैभन्दा धेरै पुरुष छन् । ७९ जना पुरुष र ४९ जना महिला अहिलेसम्म अस्पतालमा भर्ना भएका छन् । अस्पतालमा भर्ना हुन आएकामध्ये ४० देखि ६० वर्ष उमेरका मानिसको संख्या ४५ रहेको छ ।
२० देखि ४० वर्षका ४० जना र ६० देखि ८० वर्षका ३७ जना छन् । गोरखा अस्पतालमा जाँच गरेका महिला भन्दा पुरुषमा कोरोना संक्रमण दर धेरै देखिएको छ ।
बैशाख र जेठ महिनामा बढेको संक्रमण दर अहिले भने घटेको अस्पतालले जनाएको छ । भर्ना भएका बिरामी मध्ये ९५ जनालाई फेवर क्लिनिकमा रिफर गरिएको थियो ।




