| आइतवार, कार्तिक २२, २०८३

आज पन्ध्र असार किसानलाई रोपाईको चटारो

आज पन्ध्र असार । किसानका लागि यो सिजन मानो रोपेर मुरी उब्जाउने समय हो । गोरखा साना ठूला फाँटहरुमा अहिले खेत रोप्न किसानलाई भ्याइ नभ्याइ छ ।
गोरखामा १२ हजार नौ सय २० हेक्टर खेतमा धान रोपिन्छ । ‘करिब २५ प्रतिशत खेतमा धान रोपिसकिएको छ’, कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले भने । ‘अबको दुई सातामा ८० प्रतिशत खेत रोपिन्छ ।’ गोरखाको दरौँदी फाँट, टाँरिफाँट, भुसुण्डेफाँट, ज्यादुलफाँट, दर्बुङफाँट, झ्याला फाँट लगायत ठाउँ धेरै धान उत्पादन हुने क्षेत्र हो ।
असार महिना भित्र धेरैजसो खेतमा रोपाईँ सकिने उनले बताए । पन्ध्र असारको दिन कृषि ज्ञान केन्द्रले औपचारिक रुपमा रोपाइ दिवस मनाउने गथ्र्यो । कोरोनाको असरका कारण गत वर्षदेखि यो कार्यक्रम पनि रोकिएको छ । दही चिउरा खाने दिनको रुपमा पन्ध्र असारलाई लिइन्छ ।
निरन्तर वर्षात भइरहेकाले रोपाई गर्न अहिलेको मौसम उपयुक्त भएको कृषिका प्राविधिकहरु बताउँछन् । गोरखाका फाँटहरुमा किसानले हाईब्रिड जातका धान लगाउने क्रम बढेको छ । च्याम्पियन, उर्वर, रामधान, सावित्री जातका धान अहिले किसानको रोजाईमा धेरै पर्ने गरेको छ । धेरै उत्पादन दिने, कम पानीमा फल्ने, चाँडै पाक्ने धान किसानले लगाउन चाहने कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए । बिगतमा जस्तो रसायनिक मलको पनि अभाव नभएको उनले बताए ।
धान उत्पादन बढे पनि क्षेत्रफल भने घटेको छ । माछा पोखरी निर्माण गर्ने, धान खेती हुने ठाउँमा घर बनाउने क्रम बढेकाले क्षेत्रफल घटेको हो । उन्नत जातको धान लगाउने, मल बिउ मात्रा मिलाएर राख्ने गरेकाले उत्पादनमा भने असर नपरेको उनले बताए ।
केहीवर्ष अघिसम्म ठूला फाँटहरुमा पनि गोरु लगाएर रोपाई गरिन्थ्यो । तर अहिले ट्याक्टर लगाउने किसान बढेका छन् । कृषिमा आधुनिकिरणको बिकासले उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्