
प्रविधिमैत्री सिकाईका लागि महालक्ष्मी माविका सबै शिक्षकलाई ल्याप्टप
प्रविधिमैत्री सिकाईका लागि गोरखा नगरपालिका ९ को महालक्ष्मी माध्यामिक विद्यालयले शिक्षकहरुलाई ल्याप्टप बितरण गरेको छ । ‘एक शिक्षक एक ल्याप्टप’ कार्यक्रम अन्र्तगत सोमवार विद्यालयमा कार्यरत २८ जना शिक्षकलाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले ल्याप्टप बितरण गरेका हुन् ।
‘सिक्षण सिकाईमा सहज र प्रविधिमैत्री बनाउन ल्याप्टप बितरण गरेका हौँ’ विद्यालयका प्रधानाध्यापक चुणामणि काप्रीले भने । गोरखा नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८बाट बिनियोजित बजेट, राष्ट्रपति शैषिक सुधार कार्यक्रम, विद्यालयको आन्तरिक स्रोत र स्थानीय समाजसेवीको सहयोगबाट ल्याप्टप खरिद गरिएको ब्यवस्थापन समितिका अध्यक्ष शिब केसीले बताए ।
ल्याप्टप बितरण गर्दै मेयर पन्तले कोभिडका कारण विद्यालय बन्द भएको बेला शिक्षक प्रविधिमैत्री हुँदा विद्यार्थीको सिकाई प्रभावकारी हुने बताए । ‘शिक्षकहरु पहिले प्रविधिमैत्री हुनुभयो भने विद्यार्थीलाई सिकाउन सहज हुनेछ’ उनले भने ‘सिप, तालिम चाहिएमा नगरपालिकाले सहयोग गर्नेछ ।’

आधुनिक सिकाईका लागि अनलाईन कक्षा संचालन गर्न अन्य समयमा कक्षाकोठामा विद्यार्थीलाई इन्टरनेट र कम्प्यूटरको माध्यामबाट पढाउन पनि ल्याप्टप उपयोगी हुने गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए ।
कार्यक्रममा वडा अध्यक्ष कुलबहादुर कुँवरले विद्यालयको शैक्षिक बिकासका लागि वडाबाट निरन्तर सहयोग रहने र स्तवृद्धीका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।




