
आज गोरखाका ७ स्थानीय तहले नीति कार्यक्रम र बजेट ल्याउँदै
गोरखाका छ वटा स्थानीय तहले आज नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७८÷७९ को बजेट ल्याउँदैछन् ।
असार १० गतेभित्र आउँदो वर्षको नीति कार्यक्रम बजेट ल्याउनुपर्ने प्राबधान छ ।
आज नीति, कार्यक्रम र बजेट ल्याउने पालिकाहरुमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, सिरानचोक गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका र धार्चे गाउँपालिका छन् ।
अजिरकोट गाउँपालिकाले नीति कार्यक्रम ल्याईसकेको छ भने बजेट बिहिवार ल्याउने जनाएको छ । शहीदलखन गाउँपालिकाले नीति कार्यक्रम र बजेट बुधवार नै ल्याईसकेको छ भने आरुघाट र चुमनुब्री गाउँपालिकाले ल्याउन बाँकी छ ।
चुमनुब्री गाउँपालिकाले एक साताभित्र नीति कार्यक्रम र बजेट ल्याउने गरी तयारी गरिरहेको जनाएको छ ।
आरुघाट गाउँपालिकाले सबै तयारी पूरा गरेको र अध्यक्ष पूर्ण दाहाललाई कोरोना संक्रमण देखिएकाले केहीदिन पर धकेलिएको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए ।
बिहिवार (आज) बजेट ल्याउन तयारी गरेका स्थानीय तहमा बुधवार दिनभर कार्यपालिका बैठक भएका थिए । बजेट तथा योजनामा छलफल भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।




