
गाईगोरु छोएको भन्दै दलितमाथि दुव्र्यबहार
गोरखाकी एक महिलाले दलित कर्मचारीलाई गोठभित्र पस्न पनि प्रतिवन्ध लगाएकी छिन् । भीमसेन थापा गाउँपालिका वडा नं. ८ की मीरा पौडेलले पशुमा पूर्ण खोप कार्यक्रममा खटिएका दुईजना दलित कर्मचारी प्रीति गैरे र विशाल सिर्मललाई गोठभित्र पसेर गाईगोरुलाई छुन नदिएकी हुन् ।
हाम्रा गाईगोरुलाई नछो भन्दै दुव्र्यबहार गरेको पीडितहरुको गुनासो छ ।
‘हामी भेटेरिनरी अस्पताल तथा पशु विज्ञकेन्द्रका करारका कर्मचारी हौँ । पशुहरुमा पूर्ण खोप कार्यक्रममा खटिने क्रममा उहाँको गोठमा पनि पुग्यौँ । सुरुमा त हामीले गोठभित्रै बाँधेको ठाउँमा खोप लगाइदिने कि फुकाएर लगाउने भनेर सोधेका पनि थियौँ’, पीडितमध्यकी प्रीति गैरेले भनिन्, ‘उहाँले बाँधेकै ठाउँमा लगाइदेऊ भन्नु भयो । हामी गोठभित्र पस्यौँ तर उहाँ आएर तिमीहरु सार्कीका छोराछोरी किन मेरो गोठभित्र पसेको, भन्दै कराउनु भयो । हामीसँगै रहेका श्रेष्ठ थरका अर्का कर्मचारीलाईचाहिँ केही भन्नु भएन ।’
कानूनले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कारबाहीको व्यवस्था गरे पनि व्यवहारमा पीडितहरु पीडितै भइरहनु परेको उनको गुनासो छ ।
पीडितहरुले आफूहरुमाथि जातीय भेदभावको आधारमा अपमान गरेको भन्दै वडास्तरको मेलमिलाप केन्द्र र प्रहरी चौकी बोर्लाङमा उजुरी दिएका छन् । सो घटनाको बारेमा छलफल गरी मेलमिलाप गराएर पठाएको वडा अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । ‘पीडक पक्षले मैले बिराएँ भनेर माफी माग्नु भयो । पीडितकी आमा आफै मेलमिलाप केन्द्रको संयोजक हो । उहाँले माफी दिनुभयो अनि सबै जना फर्कनु भयो ।’
तर पीडित प्रीति र विशालले भने आफू र आफ्ना परिबारमाथि बारम्बार छुवाछुतको ब्यबहार भइरहेको भन्दै मेलमिलापप्रति असहमति जनाएका छन् । ‘आमा त आफै मेलमिलाप केन्द्रको संयोजक हुनुहुन्छ । उहाँले त मिल्नु पर्छ भन्नु हुन्छ’, प्रीतिले भनिन्, ‘तर केही समयअघि बिहेभोजमा उहाँ पनि अरुकै हारमा बसेर भोज खाएको भनेर गाउँलेले उहाँमाथि दुव्र्यवहार गरेका थिए । त्यतिबेला पनि माफी दिनुभयो । सँधै अन्याय गर्ने, माफी माग्ने गरेर हुन्छ ?’
घर परिबारका अन्य सदस्यसँग सल्लाह गरेर कारबाही प्रक्रियामा अघि बढ्ने र नबढ्ने निधो गर्ने उनले बताइन् ।




