| आइतवार, कार्तिक २२, २०८३

सिर्दिबास एक सातादेखि सञ्चार सम्पर्क विच्छेद

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबास फिलिम एकसातादेखि सञ्चार सम्पर्क बिच्छेद भएको छ ।

त्यहाँ सञ्चालित एक मात्र स्काई प्रविधिको फोन सेवा एकसातादेखि अबरुद्ध भएको स्थानीय सुजन गुरुङले जानकारी दिए ।
मोबाइल सेवा अवरुद्ध भएपछि फिलिम, चिसापानी, एक्लेभट्टी, घट्टेखोला, जगत, सल्लेरी, सिर्दिबास लगायतका गाउँका बासिन्दाले विभिन्न समस्या झेल्नु परेको उनले जानकारी दिए । ‘असारको दुई गतेदेखि एकाएक फोन चल्न छोड्यो’, उनले भने, ‘अहिले बर्खाको बेला छ । ठाउँठाउँमा घटना, दुर्घटनाहरु भएका छन् ।

हाम्रो ठाउँ अति दुर्गम र जोखिम छ । यस्तो बेलामा यहाँ कतै पहिरो गइहाल्यो भने पनि कसैलाई सम्पर्क गर्न सकिदैन । खाद्यान्न लगायतका अत्यावश्यक सामान ढुवानी गर्न पनि विभिन्न ठाउँमा बाटो अबरुद्ध भएको होला तर फोन गर्न नपाउँदा केही जानकारी पाउन सकिएको छैन । देशमा के के भइरहेको छ भन्ने पनि पत्तो छैन ।’
आउँदो असार १० गतेभित्र गाउँसभा गर्नुपर्ने छ । तर सञ्चार सम्पर्क नहुँदा गाउँसभालाई पनि असर गर्ने सम्भावना रहेको छ । सडक सञ्जालले नजोडिएको सो गाउँपालिकाको केन्द्रबाट वडा नं. १ र वडा नं. ७ पुग्न कम्तिमा दुईदिन पैदल हिड्नुपर्छ ।
सेटलाइट प्रविधि पनि ठिक रहेको, ट्रान्समिसन पनि ठिक अबस्थामा रहेको तर टावरको एमसीपीमा खराबी आएको हुनसक्ने नेपाल टेलिकम गोरखाका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘सबैतिर बुझ्दा एउटा सानो मात्र समस्या आएको निश्कर्षमा पुगेँ’, उनले भने, ‘जगत वा फिलिममा रहेको टावरको एमसीपी डाउन भएको छ ।

त्यसलाई अप मात्र गरिदिए फोन सेवा चल्छ । त्यत्तिका लागि सदरमुकामदेखि त्यहाँसम्म कर्मचारी पठाउन पनि कठिन छ । त्यहाँका विद्युतका कर्मचारीलाई सम्पर्क गर्न सके पनि समस्या समाधान हुने थियो ।’ तर सञ्चार सम्पर्क नहुँदा उपायबारे सुझाव दिन पनि नपाएको उनले बताए ।
फिलिम पुग्न सदरमुकामबाट तीन दिन पैदल हिड्नु पर्छ । बाढी पहिरोका कारण बाटो ठाउँठाउँमा अबरुद्ध हुँदा जाने सम्भावना पनि नभएको उनले बताए ।
गतहप्ताको बाढी पहिरोले सो गाउँपालिकाको वडा नं. ३ सल्लेरीका छ घर बूढीगण्डकीले बगाएको छ भने २० घर बिस्थापित भएका छन् । त्यस्तै जगत गाउँको ३२ घर बाढीले बगाउन सक्ने जोखिममा रहेको स्थानीय गणेश कार्कीले बताएका छन् ।

फिलिम पुग्ने बाटोको यारुबगर खण्डको दुई ठाउँमा र खोर्लाबेशी तातोपानी खण्डका पनि हिड्न नमिल्ने गरी पहिरो गएको स्थानीय गणेश कार्कीले जानकारी र्दि ।
वडा नं. ५ को बिहिफेदी, बुर हुदै वडा नं. ४ को गप जोड्ने बाटोका ठाउँठाउँमा पहिरोले झरेर बाटो अवरुद्ध छ । त्यस्तै वडा नं. ४ को गपबाट नाम्रुङ जोड्ने खण्डमा पनि पहिरोले क्षतिग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्