
जता भागेपनि छाडेन बूढीगण्डकीले
चुमनुब्री गाउँपालिका वडा नं. ३ सल्लेरीका ६० बर्षीय थर्पती गुरुङको अहिले पालमुनि बास छ । गत बुधबार बेलुकी सातबजे बूढीगण्डकीको भेलले भएको एउटा घर बढारेर लगिदिएपछि उनको बिल्लीबाठ भएको हो ।
सल्लेरीगाउँभन्दा माथि पखेराको अलिअलि समथर ठाउँमा गाउँले भेला भएर एउटा पातलो पाल टाँगिदिएका छन् ।
त्यसभित्र एकसरो म्याट्रेस ओछ्याएर उनी त्यहीँ बस्छन्, त्यहीँ सुत्छन् । अत्यासको बेला टाँगेको पालले न झरी ओत्छ, न बाछिटा ।
टहरोमा उनी एक्लो हुन् । पहिलो रात उनी लगायत बाढीले लखेटेका सबैलाई नेपाली सेनाको सडक निर्माण कार्यदलले खाना खुवायो । ओत लाग्ने ठाउँ नपाएर सिँगै रात झरिभित्रै बित्यो । दोस्रो दिन बिहिबार बिहानै एकजना दाता हेलिकोप्टर चढेर आए, पाल, म्याट्रेस, चाउचाउ र मास्क दिएर गए ।
भोलिपल्टदेखि बस्ने ठाउँ त भयो, तर उनको घरभित्र खानेकुरा केही छैन ।
नौ बर्षअघि उनी यहाँभन्दा अलिक पर पैयुँमा बस्थे । त्यहाँ उनको एक रोपनी बारी पनि थियो । बस्तीमाथिबाट ठूलो पहिरो झर्यो । पैयुँगाउँमा रहेका १० वटामध्य सबै घर बूढीगण्डकीमा पु¥यायो । खनीखोस्री गर्ने माटो पनि बाँकी रहेन ।
त्यहाँबाट बिस्थापित भएका १० जना घरपरिबारलाई सल्लेरीका बासिन्दाले निशुल्क घडेरी दिए । त्यहाँ बसेको नौ बर्षपछि फेरि बुढीगण्डकीले बास खेदेको स्थानीय गणेश कार्की बताउँछन् । ‘थर्पती जस्तै समस्या भएका यहाँ अरु तीन जना छन्’, कार्की भन्छन्, ‘पैयुँबाट भागेर बास खोज्दै आएकामध्य कोही बाटो माथि बसे ।
बाटोमुनि बस्ने राम गुरुङ, लक्ष्मण गुरुङ र लोङ्बा गुरुङको पनि हालत उस्तै हो । उनीहरुको पनि न ओत लाग्ने ठाउँ छ, न गरिखाने ठाउँ छ ।’ बूढीगण्डकीले बास उठाएको सुन्दर गुरुङ, सुर्य, गणेश, अर्को सुन्दर गुरुङ, कान्छीमाया, साहिली गुरुङ र इन्द्रबहादुर गुरुङको पनि अबस्था नाजुक रहेको उनले बताए ।
सल्लेरीमा भूकम्प पिडित लाभग्राहीबापत पाउने तीनलाख रुपैयाँले उनीहरुले ढुङ्गामाटोको पक्की घर बनाएका थिए । ‘पहिले पो भूकम्प पिडितबापतको तीनलाख रुपैयाँ पाएका थिए र घर बनाएका थिए’, कार्कीले भने, ‘अब न घर, न घडेरी । सुकुम्बासीको पनि महासुकुम्बासी भए ।’
बेलुका सात बजेतिर बूढीगण्डकीले एक्कासी हान्न थालेपछि भागाभाग भएको थर्पती गुरुङको भनाइ छ ।
‘एक्कासी ड्याङ्का ड्याङ हान्न थालिहाल्यो । भागाभाग भइहाल्यो’, उनी भन्छन्, ‘अहिले यहाँ न खाने कुरा छ, न ओढ्ने ओछ्याउने । न फेर्ने लुगा छ । यही एक्लो ज्यान मात्र छ ।’ बर्खा काट्न बाछिटा नलाग्ने खालको त्रिपाल पाउन पाए हुने उनको आशा छ ।
चिसोले असर गर्न थालेको आठ जनाको परिबारसहित पालमुनि गुजारा चलाएका राम गुरुङको भनाइ छ । ‘यस्तो चिसोमा यो एक महिनाको नाति छ । कसरी जोगाउने खोइ ?’, उनी भन्छन्, ‘आफ्नो नाममा नङमा लगाउने माटो पनि छैन । अर्काको बारीमा अधियाँ गरिखाएको हो । त्यही अन्न पनि निकाल्न पाइएन । बिचल्ली भयो ।’ पालमुनि कहिलेसम्म बस्ने हो थाह नभएको उनको गुनासो छ ।
तीनदिनको अबिरल बर्षापछि उर्लिएको बूढीगण्डकीले गत बुधबार साँझ सल्लेरीका चार घर बगाएको थियो । १० घर बिस्थापित भएका थिए । त्यस्तै बूढीगण्डकीले चुमनुब्री ३ तल्लो जगतका चारघर, चुमनुब्री २ अदाफुकका दुईघर, धार्चे १ यारुबगरका दुई घर र धार्चे ३ लुस्याङको एकघर पनि बगाएको थियो ।








