| आइतवार, कार्तिक २२, २०८३

बारपाकमा अक्सिजनको मिनीप्लाण्ट निर्माण सम्पन्न, १२ शैयाको अस्पताल बनाउने तयारी


बारपाकमा अक्सिजनको मिनिप्लाण्ट निर्माण सम्पन्न भएको छ । बिगत केही दिनदेखि आठ जना प्राविधिकको टिमले निर्माण गरेको ७० लिटर क्षमताको सो मिनिप्लाण्ट बिहिबार निर्माण सम्पन्न भएको हो ।


निर्माण सम्पन्न सो प्लाण्ट बिहिबार एक कार्यक्रमका बीच इञ्जिनियरिङ टिमका लिडर रितेश देवले बारपाक सुलीकोट गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष लालबहादुर गुरुङलाई हस्तान्तरण गरे ।


अक्सिजनप्लाण्ट निर्माण भएपछि अब १२ जना बिरामीलाई सेवा दिन सकिने भएको छ । बारपाक स्वास्थ्यचौकी परिसरमै रहेको महिला समूहको भवनमा निर्माण गरिएको १२ बेडको आइसोलेशन वार्डमा अक्सिजनप्लाण्ट जडान गरिएको हो ।


महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको करिब ३० लाख रुपैयाँको लागतमा बारपाकमा अक्सिजन मिनिप्लाण्ट निर्माण गरिएको स्थानीय वीरबहादुर घलेले बताए । उपकरण तथा जडान खर्च सबै आविष्कार केन्द्रले नै बेहोरेको उनले बताए ।

तस्वीर : नेमराज घलेको फेसबुकबाट

‘यहाँ अब हामी छिट्टै भिडियो एक्सरे र ल्याब बनाउनेछौँ त्यसपछि यहाँ हामी १२ बेडको अस्पताल बनाउनेछौँ’, उनले भने, ‘जनशक्तिको भने अभाव छ । त्यसका लागि पनि हामी लागि परिरहेका छौँ ।’ ल्याब सञ्चालनका लागि बारपाक घर भई वैदेशिक रोजगारीको क्रममा हाल इराकमा रहेकाहरुले आर्थिक संकलन गरिरहेका छन् ।


हाल निर्माण गरिएको आइसोलेशन वार्डलाई १२ शैयाको अस्पतालका रुपमा विकास गर्ने योजना रहेको वडाअध्यक्ष गुरुङले बताए ।


विद्युत सेवा कहिलेकहीँ अवरुद्ध हुँदा आवश्यक पर्ने जेनेरेटर पनि तयारी अबस्था राखिएको र त्यसका लागि आवश्यक इन्धनको पनि जोहो गरिसकिएको सो कामको समन्वय गरिरहेका वीरबहादुर घलेले बताए । त्यसका लागि भूकम्पका बेला जडान गरिएको ५० किलोवाट क्षमताको जेनेरेटर तयारी अबस्थामा रहेको उनले बताए ।

‘हामीसँग पहिल्यैको ठूलो जेनेरेटर पनि छ । फेरि अहिले अक्सिजन कन्सन्ट्रेटर सञ्चालन गर्न र अरु कम क्षमताको विद्युत चाहिएका बेला प्रयोग गर्न ६ किलोवाटको जेनेरेटर पनि जडान गरेका छौँ’, घलेले भने, ‘बर्खाका बेला बाटो अबरुद्ध हुन सक्ला भनेर त्यसलाई आवश्यक पर्ने तीनसय लिटर इन्धन पनि सञ्चित गरिराखेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्