
घट्टेखोलाको फड्के बाढीले लग्यो
लगातार २४ घण्टादेखिको बर्षापछिको बाढीले काठेपुल बगाएको छ । चुमनुब्री गाउँपालिका प्रवेश गर्ने घट्टेखोलाको पुल मंगलबार साँझ पाँचबजे बाढीले बगाएको स्थानीय सुजन गुरुङले जानकारी दिए ।
चुमनुब्री गाउँपालिकाका बासिन्दा आवतजावत गर्ने मूख्यबाटोमा पर्ने सो पुल बगाएपछि स्थानीयबासी समस्यामा परेका उनले बताए ।
‘घट्टेखोला बेस्सरी बढेर आयो र भर्खरै काठेपुल बगायो’, उनले भने, ‘मूलबाटोको पुल बगाएपछि अब गाउँपालिकाका सात वटै वडाका मान्छेलाई आवतजावतमा ठूलो समस्या पर्ने भयो । ठाडोखोला हो, बेस्सरी बढेको छ । तर्न पनि सकिँदैन, पुल पनि छैन ।’
पुल बगाएपछि घट्टेखोलालगायत यसभन्दा तल सिर्दिबास, सल्लेरी, जगतका बासिन्दा गाउँपालिकाको केन्द्र फिलिम आउनजान पनि समस्या भएको उनले बताए ।
काठेपुल संरक्षणका लागि गरिएको तटबन्ध पनि बगाएको उनले बताए । ‘खोलाको वारिपारि तारजाली लगाइएको थियो, त्यो पनि बगायो’, उनले भने, ‘अब खाद्यान्न बोक्ने खच्चड पनि आवतजावत गर्न सक्दैन । बरबाद हुने भयो ।’
सो काठेपुल स्थानीयबासीले गतबर्ष मात्र निर्माण गरेका थिए ।




