
मनास्लुका होटल व्यवसायी कोभिडले चौपट
मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायतिर धेरैको आकर्षण बढ्यो । पदमार्गका पर्यटकीय केन्द्रहरुमा नयाँ होटल व्यवसायीहरु थपिन थाले । पुराना होटल सञ्चालकहरुले पनि होटलको क्षमता बढाउन थाले ।
३६ प्रतिशतसम्म व्याजमा ऋण लिएर व्यवसाय सुरु गरेका तथा क्षमता वृद्धि गरेका व्यवसायीहरु कोरोनाका कारण दुईबर्षदेखि होटल बन्द हुँदा अहिले बिचल्लीमा परेका छन् । दुईबर्षदेखि व्यवसाय ठप्प हुँदा ‘रुनु न हाँस्नु’को अवस्थामा पुगेको जगतका होटल व्यवसायी गणेश कार्कीको गुनासो छ ।
‘पर्यटकलाई पर्याप्त सेवा दिनका लागि ३६ प्रतिशत व्याजदरमा ऋण खोजेर होटलको क्षमता बढाएँ’, होटल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका उनले भने, ‘तर दुईबर्षदेखि होटल ठप्पै छ तर साहुले व्याज माग्न छोड्दैनन् । नतिरौँ भने व्याजको स्याज दोब्बर, तेब्बर बढ्दै जान्छ ।’
यो उनको मात्र होइन, मनास्लु क्षेत्रमा सञ्चालित एकसय भन्दा धेरै होटल व्यवसायीको साझा समस्या रहेको उनले बताए । बार्षिक आठ हजार भन्दा धेरै विदेशी पर्यटक भित्रिन थालेपछि मनास्लु क्षेत्रमा होटल व्यवसायमा सुरु गर्ने तथा होटलको स्तरवृद्धि गर्नेहरु धेरै रहेको चुमनुब्री गाउँपालिका १ सामागाउँका वडाअध्यक्ष वीरबहादुर लामा बताउँछन् । तर पर्यटक सुनसान भएपछि व्यवसायीहरुको कारोबार चौपट भएको उनको भनाइ छ ।
३६ प्रतिशत व्याजमा ऋण लिएर नतिरेको बारे धमाधम उजुरीहरु आइरहेको चुमनुब्री गाउँपालिका ३ का वडाअध्यक्ष रामकुमार गुरुङ बताउँछन् । ‘पर्यटक ह्वात्तै आउन थाले । राख्ने ठाउँ भएन । अनि व्याज जति तिर्नु परेपनि तिरौँला भनेर साहुसँग ऋण लिएर होटल थपे । अहिले होटल सबै बन्द भए । ऋण तिर्न सकेनन् अनि पैसा तिरेनन् भनेर साहुको धमाधम उजुरी आउन थालेको छ’, मेलमिलाप केन्द्रका संयोजक समेत रहेका गुरुङले भने, ‘व्याज पछि सकेका बेला तिरौला । अहिले सावा मात्र भनेपनि तिर भनेर मेलमिलाप गरेर पठाएको छु ।’
पर्यटकीय क्षेत्रमा होटल सञ्चालन गर्न चाहनेलाई वैँकले लगानी नगरेका कारण व्यवसायीहरु साहुसँग चर्को व्याजमा ऋण लिन बाध्य भएको व्यवसायी गणेश कार्कीले सुनाए । ‘यदि सहर बजारमा झैँ हाम्रो क्षेत्रमा पनि वैँकले कर्जा लगानी गरेको भए यहाँका व्यवसायीलाई धेरै सुविधा हुन्थ्यो’, उनी भन्छन्, ‘चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिममा एउटा कुमारी वैँक त छ, तर त्यसले काउण्टर खोलेर बसेको मात्र हो, केही सेवा दिदैन ।’ लगानीकर्तालाई सरकारको साथ नभएको उनले गुनासो गरे ।




