
विपक्षी गठबन्धनलाई स्थानीय तह सम्म लैजान्छौँ : भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी गठबन्धनलाई दीर्घकालसम्म लैजाने सोच रहेको बताएका छन् ।
प्रधानमन्त्रीबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीमा विपक्षी दलहरूले अगाडि सारेका थिए ।
देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पनि साथ दिएको छ ।
यो गठबन्धनलाई स्थानीय तहसम्मै पु¥याएर दीर्घकालसम्म राख्ने सोचमा आफूहरू रहेको भट्टराईले सोमवार गोरखामा बताएका हुन् । पत्रकार भेटघाट कार्यक्रममा उनले संटक अझै नटरेकोले गठबन्धनलाई दीर्घकालसम्मै लैजाने सोच रहेको बताए ।
‘गठबन्धन दीर्घकालसम्मै रहन्छ ।
स्थानीय तहसम्मै पु¥याउँछौं,’ उनले भने, ‘स्वदेशी÷विदेशी शक्तिहरूका कारण देश अहिले संकटमा छ । सबै मिलेर संकटबाट बाहिर निकाल्नुपर्छ ।’
उनले व्यवस्थामाथि नै आक्रमणको प्रयास भइरहेको पनि बताए । ‘अहिलेको व्यवस्था नै विघटनको खतरा छ,’ उनले भने ।
उनले जसपाको मुल नेतृत्व एकैठाउँमा रहेको पनि दाबी गरेका छन् । जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा गएकोमा उनले असन्तुष्टि जनाएका छन् ।
‘जसपाको मुलपंङ्ति एकै ठाउँमा छ । यद्यपी अदृष्य शक्तिको चलखेल भयो,’ उनले भने, ‘जनआन्दोलनको आवश्यकता पनि देशमा हुन सक्छ ।’उनले गोरखामा सरकारले बजेट कम पठाएको बताएका छन् ।
भट्टराई स्वास्थ्य सामग्री लिएर गोरखा आएका थिए । गण्डकी प्रदेशमा सरकारलाई सहयोग गर्न जसपालाई मन्त्री पदको अफर गरिएको समेत उनले बताए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो सरकारलाई सहयोग गर्न जनता समाजवादी पार्टीलाई अनुरोध गरेको उनले बताए ।




