
गम्बाङबासीलाई हाम्रो सहारा फाउण्डेशनद्वारा खाद्यान्न वितरण
कोरोना संक्रमणले ग्रसित बारपाक सुलीकोट गाउँपालिका ३ गम्बाङका बासिन्दालाई हाम्रो सहारा फाउण्डेशनले खाद्यान्न सामग्री प्रदान गरेको छ । शुक्रबार बिहान गाउँमै पुगेर फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठ तथा सदस्य श्यामबाबु श्रेष्ठले प्रत्येक घरलाई खाद्यान्न सामग्री वितरण गरेका हुन् ।
स्थानीय शिक्षिका सलिना गुरुङको समन्वयमा फाउण्डेशनले प्रत्येक घरलाई एकएक बोरा चामल, दाल, नून, तेल, विस्कुट प्रदान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । ‘सडक सञ्जालले पनि नजोडिएका अति विपन्न गम्बाङ बस्तीमा कोरोना संक्रमण फैलिएको भन्ने समाचार सुन्यौँ, त्यसैले स्थानीयबासीसँगको समन्वयमा गाउँमा पुगेर खाद्यान्न सामग्री वितरण गरेका हौँ’, श्रेष्ठले भनिन् ।
१० घरधुरी रहेको गम्बाङका छ जनामा कोरोना नमूना परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको थियो ।




