
संक्रमितलाई घरघरै औषधी पु¥याउँछन् पालुङटारका जनप्रतिनिधि र स्वास्थ्यकर्मी
गोरखाको पालुङटार नगरपालिकामा कोरोना संक्रमण दर घटेको छैन । बिहिवार मात्रै ३५ जनालाई संक्रमण पुष्टि भएको पालिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए । यो सँगै कोरोना संक्रमितको संख्या तीन सय पाँच पुगेको छ ।
संक्रमितमध्ये एक सय ४५ जनाले कोरोना जितिसकेका छन् भने एकसय ५८ जना होम आइशोलेसनमा उपचाररत छन् । आइशोलेसनमा बसेकालाई नगरपालिकाले घरघरमा औषधी पु¥याउने गरेको छ ।
‘जनप्रतिनिधि र स्वास्थ्यकर्मीले घरघरमा पुगेर स्वास्थ्य सुरक्षाका सामग्री सहित, औषधी दिएका छौँ’ पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले भने । कोरोना संक्रमण भएका बेला मनोबल कमजोर हुन सक्ने भएकाले जनप्रतिनिधिले घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सुरक्षित रहन अनुरोध गरिएको उनले बताए । ‘जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रण र रोकथामलाई प्राथमिकतामा राखेर काम गर्न भनेका छौँ’ उनले भने ‘सोही अनुसार हामी आइशोलेसन, अक्सिजन सहित उपचार सेवा दिइरहेका छौँ ।’
नगरपालिकाले संचालन गरेको सामुहिक आइशोलेसनमा दुई जना उपचाररत छन् भने अहिलेसम्म नगरपालिकाभित्र पाँच जनाको ज्यान गएको छ । संक्रमितलाई घरघरै बितरण गरिएको औषधीमा सिटामोल, भिटामिन सि, जिंक चक्की, सेनिटाईजर, मास्क लगायतका सामग्री छन् । संक्रमितलाई स्वास्थ्यकर्मीले घरमै पुगेर ज्वारो नाप्ने, अक्सिजन लेभल चेकजाँच गर्ने गरेका छन् । ‘वडावडाको स्वास्थ्य संस्थाले संक्रमितको रेखदेख गरिरहेका छन्’ कोरोना फोकल पर्सन गिरीले भने ।





