
स्वास्थ्यकर्मी दुवै जना कोरोना संक्रमित भएपछि लापु स्वास्थ्यचौकी बन्द
स्वास्थ्यचौकीका दुई जना कर्मचारीमध्य दुवैजना कोरोना संक्रमित भएपछि धार्चे ७ को लापु स्वास्थ्यचौकी बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत दुवै जना अहेबमा कोरोना पोजेटिभ रहेको बुधबार रिपोर्ट प्राप्त भएपछि हेल्थपोष्ट बन्द गरिएको स्थानीय धनबहादुर गुरुङले जानकारी दिए ।
‘गत शनिबार ४० जनाको पिसिआर परीक्षण गरिएको थियो । हिजो १५ जनाको पोजेटिभ रिपोर्ट आयो’, उनले भने, ‘स्वाब संकलन गरेदेखि नै हेल्थपोष्ट बन्द थियो । अब त झन बन्द हुने नै भइहाल्यो ।’ संक्रमितहरु होम क्वारेण्टाइनमा बसेका छन् भने अरु गाउँलेहरु मकै गोड्नमा ब्यस्त रहेको उनको भनाइ छ ।
स्वास्थ्य चौकी बन्द नहोओस् भन्ने उद्देश्यले केरौँजा हेल्थपोष्टबाट एकजना स्टाफलाई लापु हेल्थपोष्टमा काजमा खटाइएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
१५ घरधुरी भएको कोलस्वाँरामा ३६ जना संक्रमित
जम्मा १५ घरधुरी रहेको बारपाक सुलीकोट गाउँपालिका वडा नं. ४ कोलस्वाँरामा ३६ जना कोरोना संक्रमित रहेका छन् । केहीदिनअघि गरिएको एण्टिजेन परीक्षणमा ठूलो संख्यामा संक्रमित पुष्टि भएको सो वडाका वडा सदस्य सुनेम गुरुङले जानकारी दिए ।
बिरामीमध्य केही गम्भीर रहेको पनि उनले बताए । अहिले पनि बिरामी बढिरहेको उनले बताए । ‘म हिजो मात्रै त्यहाँ गएको थिएँ । घरैपिच्छे सबका सबजसो बिरामी छन्’, उनले भने, ‘फेरि कोरोना परीक्षण गर्नुपर्छ भनेर पालिकामा कुरा राखेको छु ।’ कोलस्वाँरा धेरै बिपन्न गुरुङ समुदायको मात्र बसोबास रहेको गाउँ हो ।
सोही गाउँपालिका ३ गम्बङमा छ जनामा नमूना परीक्षण गर्दा छ जनामै कोरोना पोजेटिभ देखाएको छ । जम्मा १२ घरधुरी रहेको गम्बङमा छ जना बिरामी भएपछि गाउँलेहरु त्रसित भएका स्थानीय शिक्षिका सलिना गुरुङले जानकारी दिइन् ।
तस्वीर सौजन्य : गणेश गुरुङ




