| मङ्लबार, कार्तिक २४, २०८३

ठूला नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम बढ्यो

‘कोरोना महामारी र निधेषज्ञाका कारण खोला, नदीमा माछा मार्न चाँही सजिलो भएको छ । पुलिसले पनि खासै चसो दिएको छैन ।

तर माछा चाँही खासै बिक्री भएको छैन । साँझमा त खोलाभरि मान्छे भेटिन्छन् । धेरैजसो अहिले फुर्सदमा भएका केटाहरु चाँहि दिउँसै पनि जान्छन्’, गोरखा खैरेनी सडक खण्डका एक स्थानीयले भने ।
उनका अनुसार पहिले आठसयदेखि एक हजार रुपैयाँ प्रतिकिलो बिक्री हुने नदी, खोलाको माछा अहिले छ सय रुपैयाँमा बिक्री गर्न खोज्दा पनि ग्राहक भेटिएको छैन ।

मारेका माछा मानिस आफैँले खाने र केहीले भने सम्पर्कमा आएकालाई बिक्री गर्ने पनि गर्छन् ।
माछा मार्ने प्रविधि भने फेरिएको छ । पहिले जाल हान्ने, बल्छी थाप्ने गरिन्थ्यो । अहिले सिधै करेन्ट लगाएर माछा मारिन्छ । यसले पानीमा रहेका जलचर जनावर पनि मर्ने खतरा हुन्छ । करेन्ट लगाएर माछा मार्दा माछा नासिने खतरा पनि हुन्छ ।
गोरखाको दरौँदी नदीको अबुवादेखि, तीनकिलो, छेवेटार, चोरकाटे, नयाँसाँघु, भालूस्वाँरा क्षेत्रमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ ।

बूढीगण्डकी नदीको आसपासका बस्ती छेउमा पनि स्थानीयले करेन्ट लगाउँछन् । आरुघाटको स्तुलखोला, बूढीगण्डकी, पालुङटारको चेपे खोला, मस्र्याङ्दीमा पनि यो क्रम चलिरहेको छ । गण्डकी गाउँपालिका अजिरकोट गाउँपालिकाको आसपासका नदीमा स्थानीय युवाले करेन्ट लगाउने गरेका छन् ।
खोलामा करेन्ट लगाएर माछा मार्नु अवैध मानिन्छ । प्रहरीले पक्राउ गरी कारवाही गर्दै आएको छ । निषेधाज्ञामा प्रहरी कोरोना नियन्त्रण र रोकथाममा सक्रिय भएका बेला लुकीचोरी खोलामा करेन्ट लगाउने क्रम बढेको हो ।

गोरखा प्रहरीले खोलामा करेन्ट लगाएर माछा मार्नेलाई मुद्धा समेत दायर गर्ने गरेको छ । खोलामा करेन्ट लगाएर माछा मार्नेलाई कानुन अनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए । त्यस्तो कहिँकतै देखेमा प्रहरीलाई खबर गरिदिनु पनि उनले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्