
गोरखा अस्पतालमा अक्सिजन प्लान्ट र १५ वेड एचडियू संचालनमा
गोरखा अस्पतालमा एचडियू बेड र अक्सिजन प्लान्ट संचालनमा आएको छ । १५ वटा सुविधा सम्पन्न एचडियू वेड जडान गरिएको अस्पताल ब्यवस्थापक लिपासा श्रेष्ठले बताईन ।
एचडियू वेडको शुक्रवार गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत र अक्सिजन प्लान्टको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन् ।
‘१५ वटा मध्ये १० वटा वेडमा पाईपबाट अक्सिजन पुर्याइएको छ’ उनले भनिन् ‘पाँचवटामा पाईप जोडिएको छैन ।’ अहिले एचडियू वेड राखिएको ठाउँ अस्थायी हो । कोरोनाको संक्रमण बढेपछि हतार हतार अहिले क्यान्टिनका लागि निर्माण गरिएको ठाउँमा वेड र अक्सिजन प्लान्ट बिस्तार गरिएको उनले बताईन ।
भुकम्पमा भत्किएको अस्पताल भबन पुन निर्माणको चरणमा भएकाले २८ वेच एचडियू अस्पतालमा रहेपनि सबै जडान गरिएको छैन । अहिले जोडिएको र बाँकी बेड नयाँ भबन बनेपछि त्यहाँ स्थानान्तरण गरेर जोडिने अस्पतालले जनाएको छ ।
भेन्टिलेटरमा उपचार गराउन अघि एचडियू बेडमा बिरामीको उपचार गरिनेछ । एचडियू वेडमा राम्रो सँग उपचार गर्न सकिएको खण्डमा बिरामी भेन्टिलेटर सम्म जाने अवस्था नआउने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले बताए ।
गोरखा अस्पतालमा अहिले जडान गरिएको अक्सिजन प्लान्टले अहिले जोडिएको १० वेड बाहेक एक दिनमा ४७ लिटर क्षमताको १५ देखि १८ वटा अक्सिजन सिलिण्डर भर्न सकिने शर्माले बताए । ‘यसले गोरखाको लागि केहीहद सम्म सहज हुन्छ’ उनले भने ।
उद्घाटन गर्दै मन्त्री बस्नेतले गण्डकी प्रदेशको नवलपुर र मनाङ बाहेक सबै जिल्लामा अक्सिजन प्लान्ट सुरु भएको बताए । ‘नवलपुरमा केही दिनमा सुरु हुन्छ, भने मनाङमा थ्रि फेज लाईन नहुँदा समस्या भएको हो’ मन्त्री बस्नेतले भने ।
गोरखामा अक्सिजन प्लान्ट र एचडियू वेड संचालनमा आएपछि यहाँका बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउने अवस्थाको अन्त्य भएको उनले बताए । गण्डकी प्रदेशमा गोरखा जिल्ला अक्सिजन प्लान्ट संचालनमा ल्याउने नवौँ जिल्ला हो ।
गोरखाका मेयर राजनराज पन्तले गोरखा अस्पतालमा संचालन भएको अक्सिजन प्लान्ट र एचडियू वेडले दुर्गम ठाउँका बिरामीलाई पनि सहज सेवा मिल्ने बताए । साथै उनले कोरोना संक्रमण बढेको खण्डमा अस्पतालको बेडले मात्र नथेग्ने हुँदा नगरपालिकाले उद्योग बाणिज्य संघको हलमा आइशोलेसन निर्माण गरेको बताए ।
प्रदेश स्वास्थ्य निर्देशक समक्ष उनले पिसिआरको रिपोर्ट ढिला आउँदा संक्रमण दर बढेको बताउँदै प्रदेश प्रयोगशालाले गोरखा जस्तो दुर्गम ठाउँबाट गएका पिसिआरलाई छिटो परीक्षण गरी रिपोर्ट पठाउनुपर्ने बताए । अस्पताल बिकास समितिका अध्यक्ष बुद्धी दवाडीले सबै पक्षको सहयोग र सहकार्यमा अस्पतालको स्तरवृद्धी, उपचार क्षमता बढाउन र जनतालाई सेवा दिन अस्पताल तत्पर रहेको बताए ।







