
कांग्रेस सभापति घलेको नेतृत्वमा बारपाकमा घरदैलो गर्दै स्थानीय अगुवा
कोरोना परीक्षण गर्न र उपचार सेवा लिन स्थानीयले चासो नदिएपछि बारपाकका अगुवाहरुले घरदैलो सुरु गरेका छन् ।
स्थानीय समेत रहेका कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेको अध्यक्षतामा बिहिवार बसेको बैठकले जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुरोधमा स्थानीयको स्वास्थ्य जाँच गराउन घरदैलो गर्ने निर्णय गरेको हो । बैठकमा वडाका जनप्रतिनिधि, कांग्रेस, माओवादी, जनता समाजवादी र एमालेका राजनीतिक दलका प्रतिनिधिको उपस्थिती थियो ।
कोरोना सँग मिल्दोजुल्दो लक्षण भएका ब्यक्तिको संख्या बढेसँगै बारपाकमा प्रदेश र जिल्लाबाट चिकित्सकको टोली शुक्रवार जाँदैछन् ।
चिकित्सवको टोली जाँदा लक्षण देखिएकालाई जाँच गराउन र उपचार सेवा लिन अनुरोध गर्दै घरदैलो गरिएको नेपाली कांग्रेसका सभापति हरिबहादुर घलेले बताए । घरदैलो बिहिवार रातीदेखि सुरु भएको उनले बताए ।
शुक्रवार बारपाकमा साबिकको वडा नम्बर ४ र ९ का लागि हिमालय माविमा, ५ र ६ को लागि पुरानो स्वास्थ्य चौकी र साबिकको ७, ८ नम्बर वडाको कोट जानेबाटो लाकुरी बोटमा स्वास्थ्य जाँच गर्ने स्थान सर्वपक्षिय बैठकले तोकेको छ ।
ती ठाउँमा तीनवटा टोलीले स्थानीयको स्वास्थ्य जाँच गर्ने घलेले बताए । त्यसका लागि प्रचार प्रसार गर्न स्थानीयलाई सन्देश दिन साबिकको वडा, वडामा राजनीतिक दलका प्रतिनिधि सम्मिलित टोली खटाइएको छ । शुक्रवार बिहान १० बजे सम्म सबै घरमा सुचना दिईसक्न टोलीलाई निर्देशन दिइएको उनले बताए ।
यस्तै साविकको वडा नम्बर १ को पोखरीमा, २ को मान्द्रेको स्वास्थ्य चौकीमा र ३ को कोँजेको स्थित विद्यालयमा स्वास्थ्य जाँच गरिनेछ ।
बिहिवार हिमालय माविमा भएको सर्वपक्षिय बैठकमा जनता समाजवादी पार्टीका तेजबहादुर गुरुङ नेपाली कांग्रेसका धनबहादुर गुरुङ जितबहादुर घले, रामप्रसाद गुरुङ, माओवादी केन्द्रका वडा सभापति एवं वडा अध्यक्ष लालबहादुर गुरुङ, विद्यालयका मंगलबहादुर गुरुङ लगायतको उपस्थिती थियो ।




