
तोरीको तेलमा कोरोनाको प्रभाव : भटमासको तेल किनेमात्रै तोरीको तेल पाइने
ग्राहकले तोरीको तेल धेरै माग गरेपछि खुद्रा व्यापारी अरविन्द गुप्ता थोक बिक्रेताको पसलमा पुगे । तीन पाकेट भटमासको तेल लाने भए मात्र एक पाकेट तोरीको तेल दिन्छु भनेर थोक बिक्रेताले जवाफ दिएपछि उनले प्रमुख जिल्ला अधिकारीलाई फोन सम्पर्क गरे ।
‘पहिले तपाईको समस्या उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्शमा राख्नुस् । त्यताबाट समाधान भएन भने फेरि मलाई फोन गर्नुस् भन्नुभयो सिडियोसाबले’, मसला व्यवसायी संघ गोरखाका अध्यक्ष गुप्ले भने, ‘अब हामीले पनि ग्राहलाई एक पोका तोरीको तेल लाने भए दुई पोका सोयबिनको तेल लैजानुस् भन्नु पर्ने भयो ।’
कोभिड १९ को महामारीको बहाना बनाएर उद्योगीहरुले तेलको कृत्रिम अभाव सिर्जना गरेका छन् । साथै मूल्य वृद्धि गरेपछि त्यसको असर थोक, खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म आएको छ ।
१५ दिनयता तेलको भाउ पनि असाध्यै बढेको उनले बताए । ‘१५ दिनअघिसम्म दुईहजार तीनसय २५ मा पाउने तेल अहिले दुईहजार चारसय ५० पर्ने भएको छ’, उनले भने, ‘दिनदिनै तेलको भाउ बढिरहेको छ ।’
तोरीको तेलको अभाव भएको गोरखाका थोक बिक्रेताहरु बताउँछन् । आफूहरुले पनि उद्योगमा माग गर्दा चारदिनदेखि एकहप्तासम्म पर्खनु पर्ने, तोरीको तेल माग गर्दा भटमासको तेलले गाडी भरेर पठाइदिने गरेको उनीहरुको भनाइ छ ।
‘एकहजार पाकेट तोरीको तेल पठाइदिनुस् भनेर अग्रिम भुक्तानी दिएर गाडी पठाएका हुन्छौँ तर उद्योगले सातसय पाकेट भटमासको र तीनसय पाकेट मात्र तोरीको तेल हालेर पठाइदिन्छन् । हामी के गर्ने ?’, थोक व्यापारी मनकाजी श्रेष्ठ भन्छन्, ‘त्यही पनि बल्लतल्ल । अस्ति मात्रै २७० पाकेट तोरीको तेल ल्याउनका लागि आफूसँग प्रसस्तै स्टक छँदाछँदै भटमासको चारसय पाकेट, सनफ्लावर छसय पाकेट लिनुप¥यो ।’ वीरगञ्जस्थित उद्योगले नै यस्तो अबस्था सिर्जना गरेको उनले बताए ।
आवश्यक नभए पनि उद्योगवालाले भटमासको तेल भिडाएर पठाउने गरेको अर्का थोक बिक्रेता अनु श्रेष्ठ बताउँछन् । ‘लाने भए लैजाऊ नलाने भए दोस्रोले लैजान्छ भनेर धम्काउँछन्’, श्रेष्ठ भन्छन्, ‘अनि जे जे पठाउँछन्, खुरुक्क बोकेर ल्याउनु पर्छ । अनि हामी पनि खुद्रा व्यापारीहरुलाई सबैखाले तेल मिलाएर पठाउन बाध्य हुन्छौँ ।’ प्रति प्याकेट दुईसय २५ पर्ने तेल १५ दिनयता बढेर २६० पुगेको उनले बताए ।
प्रतिपाकेट दुईहजार ४५० रुपैयाँ पर्ने सनफ्लावर तेललाई अहिले २७ सय रुपैयाँसम्म पर्ने अर्का थोक बिक्रेता गोकर्ण राना बताउँछन् ।
भटमासको तेल पनि खान योग्य भएको वीरगञ्जका तेल उद्योगीहरुको भनाइ छ । ‘बोर्डर सिल छ । तोरीको तेलका लागि कच्चापदार्थ पर्याप्त आउँदैन, त्यसैले हामीले स्टक रहेका सबै खालका तेल मिलाएर पठाउने गरेका हौँ’, अमृत तेल उद्योग वीरगञ्जका विशाल अग्रवाल भन्छन्, ‘कोभिडका कारण तोरी उत्पादन कम भएको छ । भटमासको तेल पनि खान भइहाल्छ नि । खान नहुने होइन ।’ कच्चापदार्थको भाउ पनि बढेर आएकाले तेलको भाउ पनि बढेको उनले बताए ।
ग्राहकले जुन सामान चाहन्छ, त्यही किन्न पाउनु पर्ने गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल बताउँछन् । ‘चामल किन्न गएको ग्राहकलाई मकै किन्ने भए मात्रै चामल दिन्छु भन्न पाइन्छ ?’, उनले भने, ‘के भएको रहेछ म बुझ्छु ।’ उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्शले पनि यस्ता बिषयमा चासो राख्नु पर्ने उनले बताए ।




