
कोभिडको जोखिम मोलेर दुर्गममा धमाधम विकासको काम
कोभिड महामारीको त्रास भए पनि गोरखाका दुर्गम गाउँतिर धमाधम विकास निर्माणको काम भइरहेका छन् ।
तिब्बतको सीमानामा रहेको साम्दोबाट रुईला जोड्ने सडक निर्माणको काम धमाधम अघि बढिरहेको छ । चार किलोमिटर सडक खन्ने लक्ष्यका साथ काम भइरहेको चुमनुब्री गाउँपालिका वडा नं. १ का अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।

त्यस्तै अर्को सीमानाको गाउँ छेकम्पारमा पनि पदमार्ग निर्माणको काम भइरहेको छ । चुमनुब्री ७ को ङाक्यू, लेरुबाट लामागाउँ जोड्ने करिब १४ सय मिटर पदमार्ग निर्माणको काम भइरहेको वडाअध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन् । यसबर्ष १५ लाख रुपैयाँ लागतमा चारसय मिटर मात्र पदमार्ग बनाउने योजना रहेको उनले बताए । ‘२० सेमि सोलिङ गरेर तीन इञ्च ढलान गर्ने काम भइरहेको छ’, उनले भने, ‘बाटोको चौडाइ डेढमिटरको हुनेछ । मान्बु धुन्चेतका कामदारले धमाधम काम गरिरहेका छन् ।’ वडा कार्यालयको बजेटले काम भइरहेको हो ।


त्यस्तै अर्को दुर्गम धार्चे गाउँपालिकाको रुविनाला पास पदमार्गमा पनि पदमार्ग निर्माणको काम धमाधम भइरहेको छ । गुप्सीभञ्ज्याङबाट १४ किलोमिटरसम्म दुईमिटर फराकिलो पदमार्ग बनाउने काम धमाधम सञ्चालन भइरहेको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले बताए ।
सो पदमार्ग निर्माणका लागि पर्यटन विभागबाट बजेटमध्य तीनकरोड ६४ लाख रुपैयाँ लागतमा निर्माण कार्य भइरहेको उनले बताए । हालसम्म १० किलोमिटर निर्माण भइसकेको उनले बताए ।





