
सरकारविरुद्ध आन्दोलनमा उत्रिन संयुक्त विद्यार्थी संगठनको आग्रह
सरकारले प्रतिनिधि सभा बिघटन र मध्यावधि निर्वाचनको घोषणा गरेकोप्रति गोरखाका विद्यार्थी संघ–संगठनहरुले निन्दा र भत्र्सना गरेका छन् ।
आइतबार संयुक्त प्रेस बक्तव्य जारी गर्दै गोरखामा क्रियाशील चार विद्यार्थी संगठनले यसविरुद्ध आन्दोलित हुन आव्हान पनि गरेको छ ।
‘कोरोना महामारी नियन्त्रणमा ध्यान नदिएका कारण बिरामीले बेड, अक्सिजन र औषधी नपाइरहेको अबस्थामा मध्यावधि निर्वाचन घोषणा गर्नु सरकारको देश र जनताप्रति गैरजिम्मेवारको पराकाष्ठा हो । जनताको स्वास्थ्यप्रति खेलवाड र अपराध हो’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सरकारले जनतामाथि गरेको स्वास्थ्य अपराध तथा प्रतिनिधिसभा बिघटनका विरुद्ध एककजुट हुदै प्रतिरोध गर्न आ–आफ्नो ठाउँबाट जुट्न सम्पूर्ण विद्यार्थी तथा आमजनसमुदायलाई अनुरोध गर्दछौँ ।’
सो विज्ञप्तिमा नेविसंघका उपाध्यक्ष शिवहरि तिमिल्सिना, अखिल क्रान्तिकारीका संयोजक सञ्जीव थापा मगर, समाजवादी विद्यार्थी युनियनका संयोजक मिलन न्यौपाने र अनेरास्ववियूका अध्यक्ष सचिन भट्टराईले हस्ताक्षर गरेका छन् ।




