
गोरखा नगरपालिकाका विद्यालयले जेठभित्रै नतिजा सार्वजनिक गर्ने
गोरखा नगरपालिकाका विद्यालयहरुले आन्तरिक परीक्षाको आधारमा नतिजा सार्वजनिक गर्ने भएका छन् । गोरखा नगरपालिकाको शिक्षा शाखाले पालिकाभित्रका सबै विद्यालयलाई पत्राचार गरी यसअघि लिइएका आन्तरिक परीक्षा एवं आन्तरिक मूल्याङ्कन गरी नतिजा घोषणा गर्न आग्रह गरेको छ ।
‘यसअघि विद्यालयले सञ्चालन गरेको त्रैमासिक, अर्धवार्षिक परीक्षाको प्राप्ताङ्कलाई ६० प्रतिशत र प्रधानाध्यापक, वरिष्ठ शिक्षक र कक्षा शिक्षक सम्मिलित समितिले ४० प्रतिशत अंक निर्धारण गरी नतिजा सार्वजनिक गर्न गराउनु होला’, सो पत्रमा भनिएको छ, ‘४० प्रतिशत अंक दिँदा कक्षा कार्य, परियोजना कार्य, दैनिक हाजिरी, अतिरिक्त क्रियाकलाप, व्यवहार परिवर्तन, अनुशासन, कुशल सीप, पाठ÷इकाइ परीक्षा, निरन्तर मूल्यांकनलाई आधार मान्नु पर्नेछ ।’
कक्षा ५ र कक्षा ८ को नगरपालिकास्तरीय नतिजा सार्वजनिक गर्ने प्रयोजनका लागिसोही अनुसार अंक निर्धारण गरी आउँदो २० गतेभित्र शिक्षा शाखामा पठाउन शाखाले सवै विद्यालयलाई आग्रह गरेको छ ।
आउँदो असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुने सूचनामा भनिएको छ ।




