
राष्ट्रपति र प्रधानमन्त्रीको कदमको प्रतिरोध गर्न काङ्ग्रेस, माओवादीको आव्हान
संसद भंग गरी चुनाब घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गोरखाका काङग्रेस र माओवादीले भत्र्सना गरेका छन् । दुवै पार्टीले आइतबार अलगअलग विज्ञप्ति जारी गरी भत्र्सना गरेका हुन् ।
नेपालको संविधान राष्ट्रपति र प्रधानमन्त्री मिलेर सिद्ध्याउने काम गरेको दुवै पार्टीले विज्ञप्तिमार्फत आरोप लगाएका छन् ।
‘राष्ट्रपति र प्रधानमन्त्रीले पद, सत्ता र शक्तिको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त पार्न उद्धत भएका छन्’, काङ्ग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री चयन गर्ने बिकल्प छँदाछँदै केपी शर्मालाई प्रधानमन्त्रीमा चयन गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम हो । त्यसैले नेपाली काङ्ग्रेस गोरखा यी सब कामको घोर भत्र्सना तथा निन्दा गर्दछ ।’ संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन काङ्ग्रेस गोरखाले आग्रह गरेको छ ।
त्यस्तै कोरोना महामारी चलिरहेका बेला चुनाब घोषणा गर्नु नेपाली जनतामाथि बेइमानी र घात भएको माओवादीका जिल्ला अध्यक्ष लेखबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
‘नयाँ सरकार बन्ने स्पष्ट आधार हुँदाहुदै पनि संविधानमा व्यवस्था भएको निर्वाचनको पाँचबर्षको अवधिलाई लत्याउँदै राज्य शक्तिको व्रह्मलुट गर्ने कुत्सित मनाशायका साथ षड्यन्त्रमुलक ढंगले गरिएको प्रतिनिधिसभा विघटनका विरुद्ध प्रतिकार र प्रतिरोधमा उत्रन आव्हान गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।




