
गोरखामा १७ सय जनाको रिपोर्ट आउन बाँकी, सात सय सक्रिय संक्रमित
कोरोनाको दोस्रो लहर सुरु भएदेखि गोरखाको चुमनुब्री गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।
स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार दुईजना ललितपुरमा पिसिआर परीक्षण गरेकाहरुलाई कोरोना पुष्टि भए पनि निको भईसकेको छ ।
सो गाउँपालिकाभरि पिसिआर परीक्षण नगरिएकाले पनि त्यहाँ संक्रमित नभेटिएका बताइएको छ ।
भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकामा दुईसय भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । पालुङ्टार नगरपालिका र शहीदलखन गाउँपालिका पनि धेरै संक्रमित भएका पालिकाहरु हुन् ।
यी पालिकाको पिसिआर रिपोर्ट आउन बाँकीको संख्या पनि धेरै छ । जिल्लाभरी एक हजार सात सय ७९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।
भीमसेनथापा गाउँपालिकामा सबैभन्दा धेरै २४१ जना संक्रमित छन् । १५७ जनाको अझै रिपोर्ट आउन बाँकी छ । ६६ जनाले कोरोना जितिसकेका छन् ।
गोरखा नगरपालिकामा गत चैत यता २१७ जना संक्रमित भएका छन् । त्यहाँ २०७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । ३३ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
त्यस्तै शहीद लखनमा १२५ जना संक्रमित छन्, २७३ जनाको रिपोर्ट आउन अझै बाँकी छ । ३२ जना कोरोनामुक्त भइसकेका छन् ।
जिल्ला भित्र कोरोनाका कारण मृत्यू भएका तीन जना छन् भने अन्य जिल्लामा कोरोना पुष्टि भएका तर मृत्यू भएका स्थानीयको संख्या ८ रहेको छ ।
बुधवार पिसिआर नमुना संकलन एक सय १२ जनाको भएको छ एक जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायण अर्यालले बताए । ७६ जनाको एन्टिजिन परीक्षण गरिएकोमा २९ जनाको पोजेटिभ आएको छ । बुधवार साँझ सम्म गोरखामा सक्रिय संक्रमितको संख्या सात सय छ रहेको छ ।




