
कोभिड नियन्त्रण सहयोग समन्वय समिति गठन गर्न माओवादीको माग
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गोरखाले जिल्ला स्तरीय कोभिड १९ विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)लाई सहयोग गर्ने गरी राजनीतिक पार्टीहरु सम्मिलित कोभिड नियन्त्रण सहयोग तथा समन्वय समिति गठन गर्न आग्रह गरेको छ ।
बुधबार सम्पन्न जिल्ला पार्टीको कार्यालयको पूर्ण विस्तारित बैठकले जिल्लास्थित सबै पालिकाहरुमा पनि तथा सहयोग समन्वय समिति गठन गर्न माग गरेको हो ।
सो बैठकले गोरखा अस्पतालमा कोभिडका बिरामीलाई भर्ना गरी उपचार गर्न स्थान अभाव भएमा आफ्नो पार्टी कार्यालयमा आइसोलेशन वार्ड बनाउन पुनस्मरण गराएको छ । साथै बैठकले कोभिड नियन्त्रण तथा न्यूनिकरणमा अहोरात्र खटिएका सबै स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई सेवा सुविधा थप गर्न सरकारसँग माग गरेको छ ।
धेरै संक्रमित गाउँका बासिन्दालाई राहत दिनुपर्ने, एक टोल एक अक्सिमिटर तथा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, पिसिआर रिपोर्ट आउन ढिला भइरहेकाले यसलाई तिब्रता दिनुपर्नेमा बैठकले जोड दिएको छ ।
पार्टीको जिल्ला कमिटीका अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा भर्चुअल बैठक सम्पन्न भएको थियो ।
(फाइल तस्वीर)




