
काशिगाउँमा एकल महिला, अपाङ्गता भएका ५७ घरधुरीलाई खाद्यान्न बितरण
गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ६ काशिगाउँका ५७ घरधुरीलाई खाद्यान्न बितरण गरिएको वडा अध्यक्ष धनकुमार घलेले बताए ।
वडा भित्रका एकल महिला, अपाङ्गता भएका, आर्थिक अवस्था कमजोर भएकालाई पहिलो चरणमा २७ र दोस्रो चरणमा ३० घरधुरीलाई राहत बितरण गरिएको उनले बताए ।
बेल्जियम गोरखा समाजका अध्यक्ष आरुघाट गाउँपालिका वडा नम्बर २ मान्बु निबासी राम घलेबाट सहयोग प्राप्त ६० हजार रुपैयाँले शनिवार ३० घरधुरीलाई चामल एक बोरा, नुन, तेल खाद्यान्न सहित स्वास्थ्य सामग्री सहयोग गरिएको वडा अध्यक्ष घलेले बताए ।
यस्तै ग्लोबल गोरखा समाजका कोषाध्यक्ष बञ्जराले सहयोग गरेका ५० हजारबाट २७ घरधुरीलाई चामल, नुन, तेल सहित मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री पनि बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा भित्रका बिपन्न परिवारलाई प्राथमिकताका आधारमा राहत दिइएको वडा अध्यक्ष घलेले जानकारी दिए । सहयोगी दाता मान्बुका राम घले हाल बेल्जियममाछन् भने बञ्जारा हङकङ बस्छन् । सहयोगीहरुबाट संकलन रकम र जिन्सी सहयोग कोभिडको प्रभावले निषेधाज्ञा हुँदा समस्यामा परेकालाई निरन्तर बितरण गर्दै जाने योजना रहेको वडा अध्यक्ष घलेले बताए ।
तस्विर सौजन्य : धनकुमार घले








