
गण्डकी गाउँपालिकाको घ्याल्चोकमा अक्सिजन सहित १० वेडको कोभिड अस्पताल
गोरखाको गण्डकी गाउँपालिकाले वडा नम्बर ८ घ्याल्चोकमा कोभिड अस्पताल संचालनमा ल्याएको छ ।
डाक्टर सहित स्वास्थ्यकर्मीको टिम राखेर अस्पतालबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बताए ।
‘त्यहाँ अस्पताल सञ्चालन गर्दा गाउँपालिका भित्रका जनताले सहजै सेवा पाउँछन्’ उनले भने ‘जटिल समस्या आयो भने त्यहाँबाट काठमाण्डौँ, चितवन रिफर गर्न पनि नजिक पर्छ ।’
राजमार्ग छेउमा रहेको घ्याल्चोक स्वास्थ्य चौकीमा आइशोलेसन सहितको अस्पताल संचालन गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड अस्पतालका लागि पठाएको पाँच लाख र गाउँपालिकाको थप लगानीमा अक्सिजन सहितको १० वेड संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत पुरण गुरुङले बताए । ‘मकैसिंङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पाँच वेड छ, त्यहाँ समान्य अवस्थाका र घ्याल्चोकमा थप समस्या भएका बिरामीलाई उपचार गरेका छौँ ।’
गण्डकी गाउँपालिकामा अहिले सम्म ३६ जनालाई कोरोना संक्रमण भएको छ । ति मध्ये तीन जना निको भईसकेका छन् भने २९ जना होम आइशोलेसनमा र चार बिभिन्न अस्पतालको आइशोलेसनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले बताईन ।
अहिले आइशोलेसन स्वास्थ्य चौकीको प्रिफ्याब भबनमा संचालन गरिएको छ ।
भुकम्पपछि असल छिमेकीले उक्त भबन निर्माण गरिदिएको वडा अध्यक्ष रामप्रसाद रेग्मीले बताए । ‘यहाँ गाउँपालिकालाई सेन्टर पर्ने भएकाले अस्पताल उपयुक्त छ’ उनले भने ‘दुईवटा भबन थियो, एउटा आइशोलेसन र अर्को स्वास्थ्य चौकीको नियमित सेवा संचालनमा छ ।’ केही दिनभित्रै नयाँ एम्बुलेन्स पनि संचालन हुने भएकाले कोरोना संक्रमितको उपचारमा सहज हुने उनले बताए ।
कोभिड अस्पतालमा दुई जना बिरामी भर्ना भएका मध्ये एक जना डिस्चार्ज भएका छन् । ‘अक्सिजन सहितको सेवा दिएका छौँ’ घ्याल्चोक स्वास्थ्य चौकीका इन्चार्ज बिमल रेग्मीले भने । डाक्टर, हेल्थ असिस्टेन्ट स्टाफ नर्श सहितको जनशक्ति रहेको उनले बताए ।






