
स्थानीयको सहयोगमा बुङ्कोट स्वास्थ्य चौकीमा १० वेड आइशोलेसन बनाईँदै
गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोट स्वास्थ्य चौकीमा १० वेडको आइशोलेसन निर्माणको तयारी सुरु भएको छ ।
कोरोना भाईरसको फैलावट बढेसँगै वडा कार्यालयको पहलमा गठन भएको कोरोना भाईरस रोकथाम, नियन्त्रण आर्थिक एवं सल्हाकार समितिले स्थानीयबाट सहयोग जुटाएर आइशोलेसन निर्माण गर्न लागेको हो ।
आइशोलेसन निर्माण गर्न १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले सम्म छ लाख भन्दाबढि रकम संकलन भईरहेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । ‘सहयोग जुट्ने क्रम जारी छ’उनले भने ‘देश, बिदेशमा रहनुभएका स्थानीय, बुङ्कोटबासीले सहयोग गरिरहनुभएको छ ।’
कोरोना संक्रमित थपिँदा सबै अस्पतालमा बिरामी भरिएको र उपचार नपाउने अवस्था आएकाले स्थानीय स्वास्थ्य संस्थामा आइशोलेसन निर्माण गर्न स्थानीय जुटेका हुन् ।




