
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गम्भिर बन्न पत्रकार महासंघ गोरखाको आग्रह
कोरोना रोकथाम र नियन्त्रणमा गम्भिर बन्न नेपाल पत्रकार महासंघ गोरखा शाखाले जिल्लाका सरोकारवालाहरुलाई आग्रह गरेको छ । कोभिड १९ संकट ब्यवस्थापन केन्द्र(डिसिसिएमसी) लाई बिहिवार ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले जिल्लामा संक्रमणको चेन बे्रक गर्ने गरि योजना बनाउनु अनुरोध गरेको हो ।
महासंघले बिहिवार बिहान सबै पत्रकारहरु बिच कोरोनाबाट सिर्जित जिल्लाको पछिल्लो अवस्था र रोकथाम, नियन्त्रणका प्रयासबारे छलफल गरेर निश्कर्ष सहित सात बुँदे सुझाब डिसिसिएमसीका अध्यक्ष प्रजिअ मार्फत बुझाएको हो ।
महासंघका जिल्ला अध्यक्ष नरहरि सापकोटा र सचिव बिकास मरहट्टाद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा संक्रमितको उपचार सेवा स्वास्थ्य संस्थामा प्रभावकारी नभएकाले पर्याप्त वेड, आवश्यक उपकरण सहितको आइशोलेसन निर्माण गर्न माग गरिएको छ ।
कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताललाई प्रयोगमा ल्याउनुपर्ने, जिल्ला भित्रका एम्बुलेन्सलाई २४ सै घण्टा सेवा दिने गरी तयारी अवस्थामा राख्नुपर्ने, जनशक्ति र स्वास्थ्य उपकरणको बिवरण यकिन गरी गोरखा अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गर्नुपर्नेमा पत्रकार महासंघले जोड दिएको अध्यक्ष सापकोटाले बताए ।
औषधी, अक्सिमिटर, थर्ममिटर जस्ता उपकरणको माग बढेसँगै बढी मूल्यमा बिक्री गर्ने गुनासो भएकाले अनुगमन गरी सहज उपलब्ध गराउने ब्यवस्था गर्नुपर्ने, निषेधाज्ञाको पालना गराउन कडाई गर्नुपर्ने सुझाब महासंघले दिएको छ । कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको सन्र्दभमा सरोकारवाला सबै एकजुट भएर रोकथाम नियन्त्रण गर्न सकिने भएकाले दबाव दिन महासंघले ध्यानाकर्षण गराएको अध्यक्ष सापकोटाले जानकारी दिए ।
‘समाचारबाट संचार माध्यामले नियमित खबरदारी गरिरहेका छौँ, जनताले सहज उपचार सेवा पाउनुपर्छ, सरोकारवाला जिम्मेवार बन्नुपर्छ भन्नेमा जोड हो’ उनले भने ‘महामारीका बेला हामी मिडिया पनि सँगै छौँ, सहकार्य गर्न तयार छौँ ।’
ध्यानाकर्षण पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले कोरोना नियन्त्रण र रोकथाममा संवेदनशिल भएर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।




