
प्रहरीद्वारा ७८ थान अक्सिजन सिलिण्डर संकलन, अस्पताल र स्थानीय तहलाई हस्तान्तरण
कोरोना संक्रमितको लागि अक्सिजन अभाव हुन सक्ने भन्दै उपचार बाहेकको प्रयोजनको अक्सिजन सिलिण्डर संकलन अभियान चलाएको गोरखा प्रहरीले ७८ थान सिलिण्डर संकलन गरेको छ ।
सोमबार र मंगलबार गरी ती सिलिण्डर ग्यारेज, बिभिन्न आयोजना, सप्लायर्सबाट संकलन गरिएको डिएसपी प्रकाश दाहालले बताए ।
सङ्कलन भएकामध्ये ४० वटा गोरखा अस्पताल, १५ वटा आइशोलेसन सेन्टरका लागि गोरखा नगरपालिका र छ थान आइशोलेसन सेन्टरका लागि आरुघाट गाउँपालिकालाई दिइएको उनले बताए । बाँकी सिलिण्डर स्थानीय तहले सञ्चालन गर्ने आइसोलेशन सेन्टरलाई उपलब्ध गराउने प्रहरीले जनाएको छ । यसअघि सोमवार जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले उपचार बाहेकमा प्रयोग भएका अक्सिजन उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरेको थियो ।
प्रहरीले सिलिण्डर खोजी अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ । अक्सिजन रहेको वा खाली जस्तो भएपनि सिलिण्डर भएमा बुझाउन जिल्ला प्रशासनले अनुरोध गरेको छ । अहिले संकलन गरिएको सिलिण्डर पछि पुन लिएकै अवस्थामा सिलिण्डरधनीलाई फिर्ता गर्ने गरी संकलन गरिएको हो ।






