
आजदेखि बारपाक सुलिकोटले वडा वडामा स्वाब संकलन गर्दै
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सबै वडामा पिसिआर गर्ने भएको छ । कोरोनाको जोखिम बढेसँगै रोकथाम र न्यूनिकरणका लागि बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सबै वडामा पिसिआर जाँच गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी पनेरुले बताए ।
संक्रमण दर बढेको ठाउँ, छिमेकी देश भारत, अन्य मुलुकबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको स्वाब संकलन गरिने गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ४ को सौरपानी स्वास्थ्य चौकी र ५ को ताकुमाझ लाकुरीबोट स्वास्थ्य चौकीमा २९ गते स्वाव संकलन गर्ने जनाइएको छ । वडा नम्बर ७ र ८ को पाँचखुवा देउराली वडा कार्यालयमा, वडा नं. ६ को ताकुकोट वडा कार्यालयमा ३० गते, वडा नम्बर ३ को स्वाँरा वडा कार्यालयमा ३१ गते र वडा नम्बर १ र २ को बारपाक बसपार्कमा जेठ १ गते पिसिआरका लागि स्वाब लिईने निमित्त प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताए ।





