
गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा ढिलाई
गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा ढिलाई भएको छ । गोरखा अस्पतालको निर्माणाधिन भबन पुरा नहुँदा त्यहाँ प्लान्ट राख्न नसकिएको अस्पतालले जनाएको छ ।
आँपपिपल अस्पतालमा भने फ्रान्सबाट मगाईएको प्लान्ट अहिले सम्म नेपाल नआएकाले राख्न नसकिएको हो । गोरखा अस्पतालमा अक्सिजन प्लान्टका लागि चाहिने मेसिन २०७७ कात्तिमा अस्पतालले ल्याईसकेको छ ।
नयाँ बन्दै गरेको भबनमा उक्त प्लान्ट राख्ने योजना अस्पतालको छ । प्लान्टका लागि अक्सिजन जम्मा हुने टंकी भबन निर्माण गरिरहेको कम्पनीले ल्याउने सम्झौता छ । ‘भबनको पनि केही काम बाँकी छ, टंकी पनि आई पुगेको छैन’ गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने ‘अहिले छुट्टै राख्न र संचालनमा ल्याउन मिल्दैन ।’
अस्पताल निर्माण जिम्मा लिएको कम्पनी सँग सम्झौता गरिएको समय बाँकी छ । अस्पतालले निर्माण कम्पनीलाई हतरा लगाउने कानुनी आधार छैन् । ‘अक्सिजन प्लान्ट छिटो जडान गरेर यहाँ नै सिलिण्डर भर्ने योजनामा छौँ’ सुचना अधिकारी ढकालले भने ‘तर अझै केही समय लाग्छ ।’
गोरखा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछि नयाँ बन्ने भबनको वेडमा पाईप मार्फत सिधै लगिन्छ ।
बिरामीलाई प्रयोग गर्नु नपरेको बेला दैनिक २० वटा सम्म ठुलो सिलिण्डर भर्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । यहाँ निर्माण हुने प्लान्टले प्रति मिनेट ८० लिटर उत्पादन गर्छ । अहिले गोरखा अस्पताल सँग भएको ४५ वटा सिलिण्डर चितवनबाट भरेर ल्याउनुपर्छ । नौ सय देखि एक हजार रुपैयाँ प्रतिसिलिण्डर खर्च लाग्छ । ‘प्लान्ट बनेपछि यो खर्च कम हुन्छ’ सुचना अधिकारी ढकाल भन्छन् ‘बाहिरको सिलिण्डर पनि हामी भर्न सक्छौँ ।’
आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा आईसक्नुपर्ने थियो । कोरोनाको विश्वब्यापी प्रभावका कारण फ्रान्सबाट मगाइएको उक्त प्लान्ट आउन समय लागेको अस्पतालका प्रशासकिय अधिकृत बाबुराम गिरीले बताए । ‘अर्डर गरेको तीन महिना भयो, अझै दुई महिना लाग्छ भनेका छन’ उनले भने ‘कोभिडको बिरामीलाई अहिले आवश्यक परेका बेला प्लान्ट चलाउन सकिएन ।’
रोटरी क्लव अफ गोरखाको ९० लाख र अमेरिका नेपाल मेडिकल फाउण्डेसनको १० लाख लगानीमा आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुन लागेको हो । उक्त प्लान्ट तयार भएपछि दैनिक २० वटा सम्म १६ केजीका सिलिण्डरमा ग्याँस भर्न सकिनेछ । ‘छिमेकी जिल्ला, र घरमा चाहिने ब्यक्तिहरुलाई पनि हामीले प्लान्ट सूरु भएपछि दिन सक्छौँ’ प्रशासकिय अधिकृत गिरीले भने ।
तर अहिले गोरखामा सरकारी, निजी अस्पताल, स्थानीय तह सबैले जिल्ला बाहिरबाट अक्सिजन खरिद गरेर ल्याउने गरेका छन् । गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन लगाउनुपर्ने बिरामीको संख्या शनिवार तीन जना मात्रै छ । दुई सय ३२ सक्रिय संक्रमित रहेको गोरखामा अक्सिजनको माग बढ्यो र बिरामी थपिए भने धान्न मुस्किल पर्छ ।




