
गोरखाका नागरिक समाजले भने : कोरोना जोखिम बढ्यो, तयारी पुगेन
कोरोना भाइरसका संक्रमितहरुको संख्या गोरखामा दिनदिनै थपिँदा तयारी भने कमजोर देखिएको नागरिक समाजका अगुवाहरुले गुनासो गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भेटेर पहिलो चरणको कोरोना फैलिँदा भन्दा अहिले तयारी कमजोर देखिएकाले तत्काल तयारी बढाउन नागरिक समाजका ब्यक्तिहरुले अनुरोध गरे ।
जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ मार्फत स्थानीय तह र मातहतका संस्थालाई, प्रमुख जिल्ला अधिकारी मार्फत तीनै तहका संयन्त्रलाई उनीहरुले कोरोनाको नियन्त्रण, रोकथाम र उपचारमा गम्भिर बन्न अनुरोध गरे ।
१० बुदे मागपत्रमा कोरोना भाइरसको दोस्रो लहर रोकथाम र न्यूनिकरणमा थप सशक्त र प्रभावकारी भुमिका निर्वाह गर्न अनुरोध गरिएको छ ।
जिल्लामा मास आइसोलेसन नहुदा कोभिडका बिरामीले उपचार नपाउने अवस्था सृजना भएको भन्दै उनिहरुले तत्काल अक्सिजन, आइसियूसहितको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने माग गरेका हुन ।
नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, गैसस महासंघ गोरखाका अध्यक्ष सीताराम श्रेष्ठ र सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ‘कोभिड १९ को प्रकोप देशभर व्यापक बन्दै जाँदा संक्रमितको उपचारका निमित्त साधारण तथा अक्सिजन सेवा सहितका शैया लगायतका सेवाहरुको अभाव रहेको जनगुनासो र सूचनाहरु आइरहेका छन्, जसले गर्दा कोभिड १९ को महामारीले भयावह निम्त्याउने खतरा रहेको छ । ।’
त्यस्तै उनिहरुले जिल्लामा रहेका अन्य नीजि अस्पतालहरुलाई समेत कोभिड अस्पतालका रुपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।
यसैगरी प्रयाप्त अक्सिजन सिलिण्डरको ब्यवस्थापन गर्न, कन्ट्राक्ट ट्रेसिङ र पिसिआर परिक्षणको दायरा फराकिलो बनाउन, अक्सिजन बैंक निर्माण गर्न माग गरेका छन् ।
यसैगरी निषेधाज्ञालाई मौका छोपी स्वास्थ्य तथा खाद्यान्न सामाग्रीहरुमा हुन सक्ने कालोबजारी रोक्न नियमित अनुगमन र निगरानी गर्न समेत सरकारी निकायसंग नागरिक समाजले माग गरेको छ ।
कोरोना भाइरसको जोखिम र जिल्लाको अवस्थाका बारे गत बैशाख १९ गते जिल्लाका नागरिक समाज संघसस्थाको बैठकले बर्तमान बस्तुस्थिती र आउन सक्ने चुनौती एंव समस्याका बारे सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
नागरिक समाजको ज्ञापन पत्र बुझ्दै जिल्ला समन्वय समितीका प्रमुख गुरुङ र प्रजिअ पौडेलले नागरिक समाजको सुझावलाई गम्भिरता पूर्वक लिएर आगामी दिनमा कार्ययोजना सहित अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।





