| आइतवार, कार्तिक २२, २०८३

भीमसेन थापा ५ लामाचौरको एकीकृत मिलनबस्ती ऋण खोजेर बनाइँदै

भूकम्प पीडितलाई पुनस्थापित गराउन भीमसेन थापा गाउँपालिका ५ लामाचौरमा बन्दै गरेको एकीकृत मिलनबस्ती निर्माण सम्पन्नको चरणमा पुगेको छ ।

एकीकृत बस्तीको एकसय २९ घर अहिले ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको एकीकृत मिलनबस्ती पुनर्निर्माण तथा विकास समितिका अध्यक्ष सुकुमार श्रेष्ठले जानकारी दिए ।
निर्धारित समयसीमाभित्र बस्ती पुनर्निर्माण सम्पन्न गर्न सो समितिले ऋण खोजेर काम गरिरहेको सो बस्ती निर्माणका लागि अगुवाइ गरिरहेका स्थानीय रामहरि श्रेष्ठले जानकारी दिए ।

‘एक महिनाभित्र निर्माण सम्पन्न नगरे लाभग्राहीले पाउनु पर्ने किस्ता नपाइने भनेर ताकेता गर्न थालेपछि हामीले करिब दुई करोड रुपैयाँ ऋण लिएर कामको गति बढायौँ’, श्रेष्ठले भने, ‘घरधनीले लगानी गर्नुपर्ने रकम संकलन नभएपछि हामी समितिले नै ऋणस्वरुप जुटाएका हौँ ।’ रिठ्ठेपानी र धरमपानीका भूकम्प पीडितलाई पुनस्थापित गराउने सो एकीकृत बस्तीको पाँचबर्षअघि सिलान्यास गरिएको उनले बताए ।
‘लाभग्राहीको सूचीमा नाम निस्केका एकसय २९ जनाको घर बनाउने हाम्रो योजना हो’, अध्यक्ष श्रेष्ठले भने, ‘४८ वटा घर निर्माण सम्पन्न भइसक्यो । सात वटा घर छाउने तयारीमा छौँ । ५५ वटा घर बिम ढलानको चरणमा पुगेको छ ।’ १२ वटा घरको ढोका राखिएको, सातवटा घरको झ्याल राखिएको उनले बताए ।
‘प्रत्येक घरमा दुई तला र चारवटा कोठा छन्’, उनले भने, ‘प्रत्येक घरलाई ५.३ आना जग्गा उपलब्ध गराइएको छ ।’ घर निर्माण सम्पन्न भइसक्दा सात लाख रुपैयाँ खर्च भएको अध्यक्ष श्रेष्ठले बताए ।
एकीकृत मिलन बस्ती निर्माणका लागि सामुदायिक स्तरमा एकीकृत मिलनबस्ती पुनर्निर्माण तथा विकास समिति गठन भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण(एनआरए)ले लाभग्राहीलाई उपलब्ध गराएको तीनलाख रुपैयाँ र अपुग रकम सो समितिले घरधनी स्वयंबाट संकलन गरेको थियो ।

जोखिमयुक्त ३० जनाका लागि अक्सफाम नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले घर निर्माण गरेको थियो ।
केही घरधनीको लाभग्राहीको सूचीमा नाम ननिस्केकाले घरधनी स्वयंले बनाउनु पर्ने भएको समितिले जनाएको छ । उनीहरुलाई पनि एकीकृत बस्तीमा जग्गा उपलब्ध गराइएको स्थानीय रामहरि श्रेष्ठले जानकारी दिए । ‘एक महिनाभित्र निर्माण सम्पन्न गरिसक्न सरकारले समय सीमा दिएको छ । त्यसभित्र हामी निर्माण सम्पन्न गरिसक्छौँ’, उनले भने, ‘बस्ती निर्माण गर्न अपुग करिब डेढ करोड रुपैयाँ सरसापट गरेर संकलन गरेका छौँ ।’
बस्तीका लागि एनआरएले लिफ्टिङ प्रविधिको खानेपानी आयोजना सञ्चालन गरिरहेको छ । साथै बस्तीभित्र सडक, नाला, घेराबार पनि निर्माण गरिरहेको श्रेष्ठले जानकारी दिए ।
एकीकृत मिलन बस्ती निर्माणका लागि जग्गादाताले केही जग्गा जुटाएका थिए भने केही जग्गा घरधनी स्वयंले जुटाएका हुन् ।

घर निर्माणको काम गत २०७३ सालको पुस महिनाबाट आरम्भ भएको थियो । लाभग्राही स्वयंले जुटाउनु पर्ने रकम नजुटाएको हुँदा केही ढिला हुन गएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्