
भीमसेनथापा वडा नं. ७ र ८ मा निषेधाज्ञा
भीमसेनथापा गाउँपालिका वडा नं. ७ र ८ (साविक बोर्लाङ गाविस) मा निषेधाज्ञा जारी भएको छ । ती क्षेत्रमा फैलिँदै गएको कोरोना महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले शनिबारदेखि एकसाताका लागि निषेधाज्ञा जारी गरेको हो ।
‘भीमसेनथापा गाउँपालिका वडा नं. ७ र ८ मा कोभिड १९ को संक्रमण बढ्दो क्रममा रहेकाले सो क्षेत्रमा हुन सक्ने कोभिड संक्रमणको तीब्र संक्रमणको जोखिम नियन्त्रण, न्यूनिकरण तथा रोकथाम गर्न भीमसेनथापा गाउँपालिका वडा नं. ७ र ८ को सम्पूणर् क्षेत्रलाई मिति २०७८।०१।१८ राती १२ बजेदेखि २०७८।०१।२४ राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ’, प्रशासन कार्यालयद्वारा सूचनामा भनिएको छ, ‘सो अवधिभर सार्वजनिक तथा निजी यातायातका साधन(निर्माण सामग्री, खाद्यान्न, पशुपंक्षी र पशुपंक्षीको दाना ढुवानी गर्ने सवारी साधन, अत्यावश्यक काममा प्रयोग भएको सवारी साधन, एम्बुलेन्सबाहेक) सञ्चालनमा रोक लगाइने छ ।’
सो अवधिभर अत्यावश्यक सेवाबाहेकका सरकारी सेवा, वित्तीय संस्थाका सेवाहरु बन्द गर्ने सूचनामा उल्लेख छ । सो अवधिभर खाद्यान्न, तरकारी तथा फलफूल पसल बिहान सात बजेदेखि नौ बजेसम्म र साँझ चारबजेदेखि छ बजेसम्म मात्र सञ्चालन गर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।
भीमसेनथापा ७ क्यामुण्टार गाउँमा मात्र ६२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । भीमसेनथापा गाउँपालिका ३, ४, ६, ७ र ८ मा गरी शनिबारसम्म ६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । पालिकाभरका दुईसय ४१ जनाको स्वाब परीक्षण गरिएकोमा केहीको रिपोर्ट अझै आउन बाँकी रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।




