
गोरखामा आज ४३ जना कोरोना संक्रमितः भीमसेन थापामा ३३, गोनपामा १० जना
गोरखामा आज एकै दिन ४३ जना कोरोना संक्रमित थपिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा ३३ र गोरखा नगरपालिकामा १० जना संक्रमित थपिएका हुन् ।
बुधवार भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टरमा स्वाब संकलन गरिएको एक सय ७५ जना मध्ये ३२ र सोही ठाउँका एक जनाले भने गोरखा नगरपालिकामा स्वाब दिएका थिए ।
गोरखा नगरपालिकामा बुधवार ३९ जनाको स्वाब संकलन गरिएको थियो । ति मध्ये वडा नम्बर ८ का ९ जना र अर्का एक जना आरुघाट गाउँपालिका ७ का गरी १० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए ।
क्यामुन्टारमा समुदायमा कोरोना फैलिएपछि स्थानीयले सचेत गराइएको, उक्त क्षेत्रमा आवतजावत बन्द गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए । तीन वर्षदेखि ६७ वर्ष उमेरका मानिसलाई कोरोना देखिएको स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए ।




