
गोरखा अस्पतालमा आइसियू छ तर कोभिडका बिरामीका लागि छैन
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा गतबर्ष गोरखा अस्पतालमा एउटा भ्याण्टिलेटरसहितको आइसियू कक्ष निर्माण गरिएको छ । तर कोभिडका बिरामीका लागि सो आइसियू तथा भ्याण्टिलेटर काम नलाग्ने अस्पतालले जानकारी दिएको छ ।
आइसियू र भ्याण्टिलेटर पोष्ट अपरेशनका बिरामीका लागि मात्र प्रयोग हुने अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेलले जानकारी दिइन् । ‘हामीसँग भएको आइसियू र भेण्टिलेटर कोभिडका बिरामीका लागि होइन’, उनले भनिन्, ‘कोभिडको बिरामीका लागि आवश्यक पर्ने उपकरणहरु त्यहाँ छैनन् । छोटो समयका गम्भीर बिरामी राख्न सकिन्छ । लामो समय राख्नु पर्ने बिरामीलाई राख्न सकिँदैन ।’
कोभिडका बिरामीका लागि आवश्यक पर्ने उपकरण र जनशक्ति सो आइसियू कक्षमा नभएको उनले स्पष्ट पारिन् । ‘एउटा मेसिनले काम गर्ने होइन, सिस्टमले काम गर्ने हो । त्यसमाथि पनि भेण्टिलेटरमा राखिएका बिरामीलाई निरन्तर नर्सिङ सेवा दिनुपर्छ । त्यो जनशक्ति हामीसँग छैन’, उनले भनिन् ।
आइसियू कक्षका लागि उपयुक्त भौतिक पूर्वाधार पनि नरहेको सूचना अधिकारी कृष्ण ढकालले बताए । ‘टिनको छानो भएको बिल्डिङमा आइसियू कसरी सम्भव हुन्छ ?’, उनले भने, ‘आइसियूका लागि आधारभूत आवश्यकता भनेको भवन हो । उपयुक्त भवन पनि छैन ।’
गत साउनमा स्वास्थ्य मन्त्रालयबाट प्राप्त ९० लाख रुपैयाँमा अस्पतालमा दुईवटा बेड रहेको आइसियू तयार गरिएको थियो ।
अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण भएको उनले बताए । ‘अस्पतालमा अक्सिजन प्लाण्ट पनि भर्खरै निर्माण भएको छ । अब छिट्टै इन्स्टल गर्ने तयारीमा छौँ’, ढकालले भने, ‘भरेर राखेको अबस्थामा ५० वटा अक्सिजन सिलिण्डर सुरक्षित छ ।’




