| आइतवार, कार्तिक २२, २०८३

आजदेखि गोरखा भित्रने सबै नाकामा हेल्थडेक्स राखिने

जिल्ला स्तरको कोभिड १९ विपद व्यवस्थापन समितिले गोरखा भित्रने सबै नाकामा हेल्थ डेक्स राख्ने निर्णय गरेको छ । जिल्ला भित्रिने प्रमुख नाकामा पालिकाको समन्वयमा आजदेखि हेल्थडेक्स राखिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । स्वास्थ्य सामग्री सहितको हेल्थडेक्समा सुरक्षाकर्मी पनि खटिनेछन् ।
भारतबाट स्थलमार्ग भई फर्किएकाहरु अनिवार्य १० दिन होम क्वारेन्टाईनमा बस्नुपर्ने निर्णय गरेको छ ।
दुईसय भन्दाबढि संक्रमित पुगेमा जिल्लाभरि वा निश्चित स्थानमा संक्रमित भएमा सोही ठाउँमा मात्र लागु हुने गरी जिल्ला स्तरको कोभिड १९ विपद व्यवस्थापन समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । पालिका वडा र समुदायमा निषेधाज्ञा गर्नुपरेमा भने संम्बन्धित पालिकाले प्रजिअलाई सिफारिस गर्नेछ ।
कोरोना संक्रमितको उपचारका लागि स्थानीय तहले आइसोलेशन सेन्टर स्थापना गर्ने, स्थानीय तहलाई आवश्यक पर्ने स्रोत साधनको ब्यवस्था गरिदिन प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरिएको छ । बैठकले कोभिड रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा उल्लेखनीय योगदान गरे बापत जनसेवा श्री पञ्चम पदकबाट विभुषित स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन नारायणबाबु अर्याललाई बधाई ज्ञापन गरेको छ ।
जिल्लाका सबै पालिकाका सबै शिक्षण संस्था अनिश्चितकालसम्मका लागि बन्द गराउने निर्णय गरेको छ । बैठकले भर्चुअल र बैकल्पिक माध्यमबाट पठन पाठन गराउन सकिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले जिल्लाका सबै एम्बुलेन्सलाई तयारी अबस्थामा राख्ने, दुईवटा एम्बुलेन्स डिसिसिएमसीको निगरानीमा स्ट्याण्डबाई राख्ने निर्णय गरेको छ । सबै पालिकाको केन्द्रमा एम्बुलेन्स स्ट्याण्डबाई राख्ने, कोरोनाका कारण कसैको निधन भएमा सम्बन्धित पालिकाले नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्