
भीमसेन थापा गाउँपालिका क्यामुन्टारमा एउटै गाउँका २९ जनालाई कोरोना
भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा समुदायमा कोरोना फैलिएको छ । मंगलवार त्यहाँका २९ जनालाई कोरोना पोजेटिभ देखिएको हो । यी मध्ये १४ महिला र १५ पुरुष छन् ।
रुघाखोकी र ज्वरोको लक्षण देखिएका ३१ जनाको गाउँपालिकाले स्वाब संकलन गरेको मध्ये २५ जना, दुई जना गोरखा नगरपालिका र दुई जनाले भरतपुरमा कोभिड जाँच गराएका थिए । ११ देखि ६२ वर्ष उमेरकालाई कोरोना पोजेटिभ देखिएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।
‘हामीेले आईतवार स्वास्थ्य जाँच गरेका ८० जना मध्ये ७० भन्दाबढिमा कोभिड मिल्दो जुल्दो लक्षण थियो’ स्वास्थ्य शाखा प्रमुख खनालले भने । एक घरको एक जनाको पिसिआर जाँचका लागि स्वाब लिइएको थियो । एकै गाउँका धेरै जनालाई कोरोना पोजेटिभ देखिएपछि समुदायमा फैलिएको हुन सक्ने आशंका गरिएको छ ।
‘हामीले क्यामुन्टार शिल गर्ने निर्णय गरिसकेका छौँ’ गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले भने । उक्त ठाउँमा कोहीपनि नजान र त्यहाँबाट अन्यत्र नहिड्न गाउँपालिकाले अनुरोध गरेको छ । ‘बुधवार स्वास्थ्यकर्मीको टिम त्यहाँ गएर कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु, लक्षण देखिएकाहरुको स्वाब संकलन गर्नेछ ।’ गाउँपालिकाले औषधी उपचार र सचेतनाको कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको अध्यक्ष पाण्डेले बताए ।




