| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकाका सबै विद्यालय बुधबारदेखि बन्द


गोरखा नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बुधबारदेखि बन्द हुने भएका छन् । नगरपालिकाको शिक्षा शाखाले मंगलबार बिहान सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन बन्द गराउन आग्रह गरेको हो ।


सूचनामा बार्षिक परीक्षाको आन्तरिक तयारी भने जारी राख्न आग्रह गरेको छ । यसअघि शिक्षा शाखाले सबै विद्यालयमा आउँदो बैशाख २२ गतदेखि बार्षिक परीक्षा हुने भनी कार्यतालिका सार्वजनिक गरेको थियो ।

‘विद्यालयमा भौतिक रुपमा उपस्थित भएर पठनपाठन गराउन चाहिँ पाइएन । विद्यालयहरुले बार्षिक परीक्षाको आन्तरिक रुपमा तयारीचाहिँ गर्न सक्ने भए’, शिक्षा शाखाका स्रोत शिक्षक ध्रुव अर्यालले भने, ‘२२ गतेबाट हुने भनिएको परीक्षा पनि निश्चित भएन । परिस्थिति अनुसार अर्को निर्णय नहुञ्जेल परीक्षा पनि स्थगित भएको छ । हामीले पनि पाँच र आठ कक्षाको प्रश्नपत्र लगायत सबै तयारी अबस्थामा राखेका छौँ । विद्यालयहरुले पनि प्रश्नपत्र निर्माणलगायतको तयारी गरिराख्नुपर्छ । सूचना हुनेवित्तिकै पुनसञ्चालन गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्