नेकपा एमाले(नेपाल समूह)को जिल्ला संगठन निर्माण तीब्र
विभाजनोन्मुख नेकपा एमाले(नेपाल समूह)ले गोरखा जिल्लामा विभिन्न संगठन निर्माणको कामलाई तिब्रता दिइरहेको छ ।
सो समूहले गत चैत १६ मा समानान्तर रुपमा यादव बस्नेतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । सो कमिटीले सदरमुकामको प्रतीक्षालयचोकमा जिल्ला कमिटीको कार्यालय सञ्चालन गरिसकेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
आउँदो बैशाख २० गतेभित्र नेता माधव नेपालको उपस्थितिमा जिल्ला भेला तथा प्रशिक्षण गर्ने निर्णय गरिसकेको जिल्ला अध्यक्ष बस्नेतले बताए । तयारीका लागि आउँदो मंगलबार नगरभेला आयोजना गरिएको उनले बताए ।
सो पार्टी(समूह)को विद्यार्थीहरुको भातृ संगठन अनेरास्ववियूको संरचना पनि गठन भइसकेको छ । सचिन भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी र २१ सदस्यीय सचिवालयसमेत गठन गरेको बस्नेतले बताए ।
युवाहरु संवद्ध भातृ संगठन युवा संघ नेपालको पनि इञ्चार्ज चयन भइसकेको छ । रेखा लोप्चन इञ्चार्ज र विश्व बानियाँ सहइञ्चार्ज चयन भइसकेका छन् ।
त्यस्तै अखिल नेपाल किसान महासंघको पनि इञ्चार्ज चयन भएको छ । जुद्धविलास भण्डारी इञ्चार्ज चयन भएका हुन् । उत्पीडित मुक्ति समाज(दलित) संगठनको पनि इञ्चार्ज चयन भएका छन् । रामबहादुर रम्तेललाई इञ्चार्ज चयन गरिएको हो ।
सो पार्टीले जिल्लाका सबै पालिका कमिटीको अध्यक्ष चयन गरिसकेको छ । पालिका स्तरको भेला आयोजना गरेर कमिटीलाई पूर्णता दिने तयारी भइरहेको जिल्ला अध्यक्ष बस्नेतले बताए ।
उनका अनुसार गोरखा नगरपालिकामा १४ गते भेला आयोजना गरिएको छ । पालुङ्टार नगरपालिकामा १५ गते, भीमसेन थापा गाउँपालिकामा १६ गते भेला तोकिएको उनले बताए । चुमनुब्री र धार्चे बाहेकका सबै पालिकाले भेलाको मिति तोकिसकेका उनले बताए ।




