| आइतवार, कार्तिक २२, २०८३

जनप्रतिनिधि नहुँदाको अबस्थाभन्दा धेरै परिवर्तन गरेका छौँ : फणिन्द्र धिताल

गोरखाका ११ वटा पालिकामध्ये सदरमुकामबाट दुर्गममा रहेकोमध्यको एक पालिका हो अजिरकोट । छिमेकी जिल्ला लमजुङसँग सिमाना जोडिएको उक्त गाउँपालिकको सबै वडामा कच्ची सडक पुगेको छ भने गाउँपालिको केन्द्र भच्चेक र त्यो भन्दा माथि नम्की र सिरानडाँडा सम्मको सडक कालोपत्रे भएको छ ।

पाँचवटा वडा मात्रै रहेको यस गाउँपालिकामा वडा कार्यालय जाने सडक भने कच्ची छ । भौगोलिक बिकटताका कारण गाउँपालिका भित्र पूर्वाधार बिकासमा बजेट अभाव हुने गरेको जनप्रनिधिको गुनासो छ । स्थानीय तहको निर्वाचनअघि र अहिले गाउँपालिका मा के फरक भएको छ त ? यसै विषयमा दरौँदी दैनिकका लागि नरहरि सापकोटाले अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालसँग कुराकानी गरेका छन् ।

तपाई अध्यक्ष हुनु अघि र अहिले गाउँपालिकामा के परिर्वतन भएको छ ?
पहिले बिना योजना काम हुन्थ्यो । अहिले केही भएपनि योजना बनाएर काम गर्ने गरेका छौँ । सदरमुकामबाट भच्चेक हुँदै सिरानडाँडा सम्म सडक कालोपत्रे भएको छ । वडा कार्यालयसम्म सडक थिएन । अहिले कच्ची सडकले जोडेका छौँ । चनौटे–मुच्चोक–ढिस्का हुँदै भच्चेक–खरिबोट–लप्सीबोटबाट लमजुङको बिचौर जोड्ने २५ किलोमिटर सडक कालोपत्रे गर्न बाटोको सर्भे भईरहेको छ ।

एक घर एक धाराको मेगा प्रोजेक्ट वल्र्ड बैंकले निर्माण गर्ने तयारीमा छ । वडा नम्बर १, २ र ३ मा वडा कार्यालय भबन बनायौँ । गाउँपालिकाले आफ्नै भबनबाट सेवा दिइरहेको छ । सामुदायिक भबनहरु बनाएका छौँ । बिकासले गति लिईरहेको छ ।

कस्ता योजनाहरुलाई प्राथमिकता दिनुभएको छ ?
बजेट त पूर्वाधारतर्फ नै बढि जाने रहेछ । तर हामीले यो वर्ष कृषिमा ३५ लाख छुट्याएका छौँ । आवश्यकता धेरे हुँदा सबै काम गर्न सकिएको छैन । मेगा प्रोजेक्टमा संघ र प्रदेशको सहयोग चाहिन्छ । अन्य कामका लागि अहिले गाउँपालिकासँग भएको बजेट पर्याप्त छ जस्तो लाग्छ । पर्यटन र जडिवुटी प्रशोधन गर्ने जस्ता मेगा प्रोजेक्ट ल्याउनमा माथिल्लो निकायको सहयोग चाहिन्छ । गाउँ बिकासका अन्य काम गर्न अहिले भएको बजेट कार्यन्वयन राम्रो सँग गर्ने हो भने अभाव हुँदैन ।


गाउँपालिकाबासीलाई अहिलेको टड्कारो आवश्यकता के हो ?
बजेट कार्यन्वयनको चुनौती प्रमुख समस्या हो । बजेटका लागि बजेट नभई कार्यन्वयन र ब्यवस्थापन कसरी गर्ने भन्ने चाँही समस्या बनेको छ । डोजर लगाउने पहिरो खसाल्ने, पहिरो जान्छ फेरि गाउँपालिकाबाट बजेट खोज्ने, खानेपानी आयोजना बिग्रिन्छ फेरि त्यही कामको लागि बजेट खोज्ने प्रवृत्ति रोक्नुपर्छ । हचुवाको भरमा बजेट बिनियोजन गर्नु हुँदैन । प्रदेश र संघले बिनियोजन गर्ने बजेट गाउँपालिका ले प्राथमिकता तोकेको क्षेत्रमा मात्रै खर्च गर्नुपर्ने भनेर हामीले गाउँ सभाबाट निर्णय गरेका छौँ । एउटै बाटोमा गाउँपालिका र प्रदेशले बजेट राखेर दोहोरोपन भएको देखिन्छ । आर्थिक वर्षको अन्त्यमा बजेट आएको हुन्छ हतारमा काम गर्ने परिपाटी छ । यसले दिगो बिकासमा समस्या हुन्छ । आवश्यकता र औचित्यका आधारमा बजेट बाँडफाँड हुन सक्यो भने मात्रै काम हुन्छ ।
शिक्षा र स्वास्थ्यका क्षेत्रमा कस्ता काम भएका छन् ?
स्वास्थ्यमा जनशक्ति कम छन् । समायोजन भएर कर्मचारी अन्यत्र गएपछि करारका कर्मचारीबाट स्वास्थ्यको काम चलाउनुपरेको छ । गाउँपालिकाको खर्चमा ल्याब टेक्निसियन र डाक्टर राखेका छौँ । शिक्षातर्फ हामी दरबन्दी मिलान गर्ने क्रममा छौँ । प्रस्तावित माध्यामिक तहमा शिक्षक अभाव छ । एक÷एक जना शिक्षक गाउँपालिकाले उपलब्ध गराएको छ । छात्रावृत्ति दिने, शैक्षिक सामग्री सहयोग गर्ने गरेका छौँ । स्थानीय भाषाको पाठ्यक्रम लागु गर्ने अन्तिम तयारीमा छौँ । विद्यालयका कार्यालय सहयोगीको न्यून पारीश्रमिक भएकाले थप गरिदिएका छौँ । बाल कक्षामा पढाउने शिक्षकहरुलाई पनि तबल सुविधा बढाइदिएका छाँै ।
कृषिमा कत्तिको सम्भावना देख्नुहुन्छ ?
कृषिलाई अर्गानिकीकरण गर्ने । अर्गानिक अजिरकोट बनाउने निर्णय गरेका छौँ । हाम्रा यहाँ कृषिजन्य उत्पादन छ त्यो अर्गानिक बनाउँदा मात्रै बजार पाउने भयौँ । नभए भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने भईयो । रैथाने जाति बाघमारे, आँघु, झिनुवा, अनादी जस्ता रैथाने जातका अन्न लोप हुन थाले । सिरानडाँडाको आलु अत्याधिक मिठो र प्रख्यात छ । रैथाने जाति र अर्गानिक बनाएर उपभोक्ताको स्वादसँग जोडेर आम्दानीको स्रोत बढाउन सकिन्छ भन्ने हो । अर्गानिकलाई मलको बिकल्प भनेको हाम्रो माथिल्लो भेगमा गोठ छ ।हामीले भकारो सुधार कार्यक्रममा सहयोग गरेर कम्पोष्ट मल बनाउन प्रेरित गरको छौँ । बस्तु नपाल्नेले पनि कम्पोष्ट मल किन्न पाउँछन् । कृषिमा कर्मचारी अभाव छ । भेटनरी डाक्टर, कृषि अधिकृत, करारबाट वडापिच्छे जेटीए भर्ना गर्नु परेको छ ।

रोजगारी सिर्जना गर्न कस्ता खालका योजना बनाउनुभएको छ ?
बिदेश गएर युवा जे काम गर्न पनि तयार हुने तर यहाँ आफैँ ब्यवशायीक हुन इच्छा नगर्ने प्रवृत्ती छ र्। फर्क युवा अभियान चलाएका छौँ । गाउँपालिको २५ लाख छुट्याएको छ । बिदेश गएर फर्केकालाई अनुदान, सहुलियत ऋण दिएर ब्यवशायीक बनाउने योजना संचालन भईरहेको छ ।
लामो समय खेती नगरेका बाँझो बारी, खेतमा खेती लगाउन चाहनेलाई अनुदान दिएका छौँ । पशुपालनमा पनि सहयोग गरिएको छ । रोजगार सिर्जना गर्नका लागि कार्यक्रम प्रसस्त राखेका छौँ । चलिरहेको पनि छ ।

पर्यटनको अवसर कत्तिको छ ?
नागेपोखरी दुधपोखरी, नारदपोखरी जाने पदमार्गको बिकास गरेका छौँ । नागेपोखरी आफैँमा भ्यू टावर हो । अहिले नागेपोखरी जानेहरु बढेका छन् । आन्तरिक टुरिजमको बिकास गर्ने सोचमा छौँ । धार्मिक तथा पर्यटकीय पूर्वाधारका लागि भुमेथान मन्दिर निर्माण भएको छ ।
भावी योजना के छ ?
पाँचवर्ष भनेको कर्मचारी अभाव, हामीले पनि काम नजान्ने, कर्मचारी आउँदा नयाँ आउने भएकाले काम सिक्ने समय लाग्ने भयो । अहिले खासै त्यति धेरै केही गर्न सकिएको छैन । अहिले हामीले जग मात्रै बसाएका छौँ । त्यो चाँही केही समयपछि देखिन्छ । सबै गाउँपालिका जग बनाउने क्रममै छन् जस्तो लाग्छ । जग भनेको योजना ‘प्यालिनङ’ हो । यसको आधार तयार गर्दैछौँ ।

प्रतिक्रिया दिनुहोस्