
गोरखामा गुड नेवर्स इन्टरनेशनले पा¥यो दुई विद्यालय अलपत्र
दरौँदी ः भूकम्पपछि पुनर्निर्माणको काम गर्न आएको गुडनेवर्स इन्टरनेशनल नामक गैरसरकारी संस्थाले गोरखाका दुई विद्यालयको भवन निर्माणको काम अलपत्र बनाएको छ । धार्चे गाउँपालिका ७ लापुस्थित कालरात्री माध्यमिक विद्यालय र आरुघाट गाउँपालिका ६ आरुआर्बाङस्थित अलैंचै माविको भवन निर्माणको काम अलपत्र पारेको हो ।
सो संस्थाले कालरात्री माविमा १२ कोठे र अलैंचे माविमा १६ कोठे भवन बनाइदिने सम्झौता गरेका थिए ।
गत पुस १५ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेर सो संस्थाले भवन नबनाएको विद्यालयका प्रधानाध्यापक रामकृष्ण खनालले जानकारी दिए । ‘भूकम्प गएदेखि अहिलेसम्म हाम्रा दुईसय ११ जना विद्यार्थी टहरामा अस्तब्यस्त अबस्थामा पढ्नुपरेको छ’ प्रअ खनालले भने ‘जिल्लाभरि विद्यालय बनिरहेका छन् । हाम्रो विद्यालय बनाइदिने संस्थाले डिसेम्बरभित्र बनाइदिन्छु भन्थ्यो, तर अहिलेसम्म डिपिसी मात्र गरेर छोडिदियो ।’ निर्धारित समय कटेको छ महिना बितिसक्दा सम्म १० प्रतिशत काम मात्र भएको उनले बताए ।
सो संस्थाले भवन निर्माणको जिम्मा काठमाण्डौंको एनबी निर्माण सेवालाई दिएको थियो ।
तीन करोड २० लाख रुपैयामा सुविधासम्पन्न १२ कोठे भवन बनाउने ठेक्का दिएर भवन नबनाएको वडा अध्यक्ष सूर्यमान गुरुङ बताउँछन् ।
सम्झौता गरेर ठेकेदार भागेको गुरुङको भनाइ छ । स्थानीयबासी र जनप्रतिनिधिलाई ‘बाइपास’ गरेर काम थालेर बीचैमा अलपत्र पारेर छोडेको गुरुङको भनाइ छ । ‘हामीलाई कोही पनि चाहिँदैन भने झै गरेर जनप्रतिनिधिसंग पनि समन्वय नगरी काम थालेका थिए । काम थालेको एकबर्ष भयो, अहिलेसम्म डिपिसी मात्र गरेर ठेकेदार नै भाग्यो’ गुरुङले भने ।
२०७२ साल बैशाखको भूकम्पले १२ कोठे भवन भत्काएपछि सो विद्यालयका सबैजसो कक्षा अस्थायी टहरोमै सञ्चालन भैरहेका छन् । माइली नेपाल नामक फ्रान्सको संस्थाले बनाइदिएको २ कोठे पक्की भवनमध्ये एउटामा विद्यालयको कार्यालय र अर्कोमा प्रारम्भिक बालकक्षा (इसिडी) तहका विद्यार्थीलाई पढाउने गरिएको छ । ‘कक्षा एक देखि १० सम्मका विद्यार्थी ३ वर्षदेखि अस्थायी टहरोमै बसेर पढ्न वाध्य भएका छन्’ प्रअ खनाल भन्छन् ‘दुर्गमको ठाउँ हो, हिउँदयाममा अत्यधिक चिसो हुन्छ ।
गर्मीयाममा हावाहुरी चल्ने भएकाले विद्यार्थीलाई सुरक्षित राखेर पढाउनै सकिएको छैन ।’ जस्ताको छानाबाट पानी चुहिने, भुइँ हिलो भएर विद्यार्थी कक्षाकोठामा बस्न सक्ने वातावरण नै नहुने उनको गुनासो छ । ‘अहिले बर्खाको बेला छ । कक्षाभित्र पानी पसेर किताव, कापी भुइँमा झ¥यो भने हिलाम्यै हुन्छ’ उनले भने ‘संस्थाले धोका दियो ।’
भूकम्पअघि पनि लापुगाऊँमा सामाजिक काम गर्दै आएको गुड नेवर्सले विद्यालय भवन निर्माणको जिम्मा पनि अरुलाई नदिई आफैले लिने प्रस्ताव जिल्ला शिक्षा कार्यालयसंग गरेको थियो ।
स्थानीय साझेदार संस्था पद्धति विकास सेवा केन्द्र मार्फत उसले भवन निर्माणको काम थालेको हो ।
संस्थाले भने ठेकेदार कम्पनीलाई सबै दोष देखाएर पन्छिने गरेको प्रधानाध्यापक खनालले बताए । ठेकेदार कम्पनी सम्पर्कविहिन भएपछि गुड नेवर्स र पद्धति विकास सेवा केन्द्रलाई निर्माण अघि बढाउन आग्रह गरेको खनालको भनाई छ । तर दुबै संस्थाले आलटाल गर्दै आएका उहाँको गुनासो छ ।
भागेको ठेकेदार कम्पनीले निर्माण सामग्री ढुवानीको १५ लाख, कामदारको ज्याला पाँचलाख र स्थानीय होटलमा खाए, बसेको तीन लाखसहित २३ लाख रुपैया नतिरी सम्कर्पविहिन भएको स्थानीय बासीको गुनासो छ । ठेकेदारले तिर्नुपर्ने रकम दुई गैरसरकारी संस्थाले तिर्नुपर्ने स्थानीयको माग छ ।
संस्थाले भने भाग्ने ठेकेदारसंग सम्झौता भंग गरेको जनाएको छ । भवनको बाँकी संरचना निर्माणका लागि हालै विद्यालय व्यबस्थापन समितिलाई जिम्मा दिएको गुडनेभर्स इन्टरनेशनलका गोरखा कार्यालय प्रमुख द्रोण जीसीले जानकारी दिए । अलैंचै माविमा भने जग पनि खनिएको छैन । विद्यालय भवन निर्माणका लागि नौ जना जग्गादाताले नौ रोपनी जग्गा निशुल्क उपलब्ध गराए पनि संस्थाले भवन नबनाएको प्रधानाध्यापक लेखनाथ भट्टले जानकारी दिए । ‘जग्गा सम्बन्धी विवाद देखिएको थियो । त्यही निहुँमा संस्थाले काम छोडिदियो’, प्रअ भट्टले भने, ‘अहिलेसम्म अरु कोही पनि भवन बनाइदिन आएका छैनन् । दुईसय जना विद्यार्थी टहरामा बसेर पढिरहेका छन् ।’