| आइतवार, कार्तिक २२, २०८३

दिनभरको रस्साकस्सीपछि जनकल्याण माविमा लगाइएको ताला खुल्यो

शिक्षक पक्राउ गरेको आक्रोशमा जनकल्याण माविमा विद्यार्थीद्वारा गरिएको ताला साँझ खुलेको छ । सत्यतथ्या छानबीनमा विद्यालय प्रशासन, विद्यार्थी तथा व्यवस्थापन समितिले अग्रसरता लिने समझदारीपछि बिहिबार साँझ ताला खुलेको प्रधानाध्यापक कमलप्रसाद ढकालले जानकारी दिए ।


सिरानचोक गाउँपालिका ७ गोहोरेको जनकल्याण माविका गणित विषयका शिक्षक जलेन्द्र चौधरीलाई प्रहरीले प्रक्राउ गरेको विरोधमा विद्यार्थीहरुले बिहिबार दिनभर विद्यालयमा तालाबन्दी गरी विरोध प्रदर्शन गरेका थिए । बद्नियत राखेर कसैको इशारामा निर्दोश शिक्षकलाई फँसाउन खोजिएको भन्दै विद्यार्थीहरुले दिनभर विरोध प्रदर्शन गरेपछि बिहिबार दिनभर पठनपाठन बन्द भएको थियो ।

‘दिनभर तालाबन्दी गरी नारा जुलुस गरिरहेका थिए । दिनभर विद्यार्थी प्रतिनिधि र अभिभावकहरुसँग वार्ता र छलफल गरेपछि साँझ अबेर ताला खुलाए’, प्रअ ढकालले भने, ‘अब तत्काल विद्यालय प्रशासन, व्यवस्थापन समिति र विद्यार्थी प्रतिनिधि सत्यतथ्य जानकारी दिनका लागि प्रहरी कार्यालयमा जाने निणर्य भएको छ ।’


प्रहरीले गत मंगलबार तीनजना छात्राहरुलाई यौन दुव्र्यबहार गरेको आरोपमा शिक्षक चौधरीलाई पक्राउ गरी बालयौन दुराचार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । कक्षाकोठाभित्रै छात्राहरुमाथि अस्वभाविक यौनजन्य दुव्र्यवहार गरेको भन्दै शिक्षक चौधरीमाथि जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्