| मङ्लबार, कार्तिक २४, २०८३

चीनले डेढबर्षदेखि नाकाबन्दी गर्दा सीमा क्षेत्रको जनजीवन प्रभावित

चीनियाँ सरकारले एकातर्फी बन्द गरेको नाका डेढबर्षदेखि नखोल्दा सीमा क्षेत्रका बासिन्दा समस्यामा छन् । दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेकाले जनजीवन कष्टकर हुदै गएको चुमनुब्री गाउँपालिकाका सीमावर्ती वडाका बासिन्दा बताउँछन् ।


‘डेढबर्ष भइसक्यो, अझै नाका खुल्ने सम्भावना छैन’, चुमनुब्री गाउँपालिका १ साम्दोका निमादोर्जे लामा भन्छन्, ‘गाउँलेलाई अत्यन्तै आवश्यक पर्ने घ्यू, चियापत्तिहरु कत्तिपनि छैन । यो सामान तल्लो क्षेत्रको बजारमा पनि पाइँदैन । त्यसैले हामीलाई समस्या भएको छ ।’ नाका खुलाइदिनका लागि काठमाडौंस्थित चिनियाँ दूतावास र ल्हासास्थित महावाणिज्य दूतावासको कार्यालयमा पत्राचार पनि गरिएको तर सुनुवाई नभएको उनले बताए ।


‘नाका खुलाउन हामीले नागरिकको स्तरबाट गर्ने सबै पहल ग¥यौँ । वडा कार्यालयको तर्फबाट चिनियाँ दूतावासमा, तिब्बतको ल्हासामा रहेको महावाणिज्य दूतावासको कार्यालयमा पत्राचार ग¥यौँ तर सुनुवाई भएको छैन’, वडा नं. १ का जनप्रतिनिधि समेत रहेका लामाले भने, ‘अब सरकारले नै पहल गर्नुपर्ने देखिन्छ ।’ विशेषगरी वडा नं. १ को साम्दो, सामागाउँ, वडा नं. २ को ल्हो, ल्ही, स्यो, हिनाङ, वडा नं. ७ का नौवटा गाउँ बस्तीहरुमा नाकाबन्दीले नकारात्मक असर पारेको उनले बताए ।
स्थानीय उत्पादनले तीन महिना पनि राम्ररी खान नपुग्ने यहाँ तिब्बतबाट सामान आयात गर्न नपाउँदा समस्या भएको अर्का स्थानीय दाला नोर्बु लामा बताउँछन् । ‘गाउँको उत्पादनले दुईतीन महिनाभन्दा धेरै समयलाई खान पुग्दैन’, लामा भन्छन्, ‘बाँकी नौ महिनालाई पुग्ने सामान चीनको कोङदाङबाट ल्याउनु पर्छ ।

तर डेढबर्षदेखि नाका खुलेको छैन । तल्लो क्षेत्रको बजारबाट सामान किनेर ल्याउँदा धेरै महंगो पर्छ । तिब्बती बजारमा पाइने कतिपय सामान तलका बजारहरुमा पाइदैनन् ।’ करु, चामल, नून, तेल, घ्यू, चियापत्ती, चिनी लगायतका दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको उनले बताए ।
चीनियाँ सरकारले सामागाउँको रुइला नाका बर्षमा एकफेर खुलाउने गथ्र्यो भने छेकम्पारको मुलाढाज्यान(ङुइला) नाका बाह्रै महिना खुलाउने गथ्र्यो । तर कोरोनाका कारण देखाएर लामो समयदेखि एकातर्फी रुपमा नाका बन्द गरेको उनले बताए ।


अन्नबाली केही राम्रो हुने छेकम्पारमा पनि यसबर्ष उत्पादन घटेको वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउँछन् । ‘आलु, लसुन, प्याज बिग्रियो । फापर र गहुँ पनि घटेको छ’, उनी भन्छन्, ‘यतातिर खाने भनेकै घ्यूचिया हो । नाका बन्द हुँदा धेरै घरमा चिया खान पनि बन्द भइसक्यो । कसैकसैले रोङ्वाले खाने चिया खाएर काम चलाएका छन् ।’ नाकाबन्दले जनजीवन कष्टकर भएको तर चीनको प्रहरीले मान्छे लुकिछिपी आवतजावत गरिरहेको हुनसक्ने भन्दै फोनमा कराइरहने गुनासो गर्छन् ।


तिब्बती नाकामा चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ, साम्दोका २२५, वडा नं. २ ल्हो, ल्ही, स्योका ३३४, वडा नं. ७ छेकम्पारलगायतका नौ वटा टोलका २६५ घरधुरीको जनजीवन प्रभावित भएको जनप्रतिनिधिहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्